site stats
बाह्रखरी :: Baahrakhari
विदेश
विश्वकप खेल्न आएका दुई अस्ट्रेलियाली महिला क्रिकेटरमाथि भारतमा यौन उत्पीडन

काठमाडौं । भारतको मध्य प्रदेश राज्यको इन्दौरमा दुई अस्ट्रेलियाली महिला क्रिकेटरको पिछा गर्ने र गलत तरिकाले छुने घटना भएको छ । यी दुवै खेलाडी आईसीसी महिला क्रिकेट विश्वकपमा भाग लिइरहेका छन् ।

स्थानीय प्रहरीले बिहीबार (अक्टोबर १३) खजराना रोड इलाकामा भएको उक्त घटनापछि एक आरोपितलाई गिरफ्तार गरिएको जनाएको छ ।

समाचार एजेन्सी पीटीआईसँग इन्दौर प्रहरीकी सबइन्सपेक्टर निधि रघुवंशीले यो घटना दुवै क्रिकेटर आफ्नो होटेलबाट निस्केर एउटा क्याफेतिर जाँदै गरेका बेला भएको बताइन् ।

मोटरसाइकलमा सवार एक पुरुषले यी दुवै खेलाडीको पिछा गरेका थिए । दुईमध्ये एकलाई गलत तरिकाले छोएर ती व्यक्ति भागेका थिए ।

घटनापछि अस्ट्रेलियाली क्रिकेटरले आफ्नो टोलीका सुरक्षा अधिकारी ड्यानी सिमन्ससँग सम्पर्क गरेका थिए । त्यसपछि स्थानीय प्रशासनसँग कुरा गरेर मद्दतका निम्ति एउटा गाडी पठाइएको थियो ।

सहायक प्रहरी आयुक्त हिमानी मिश्राले घटनाको जानकारी पाएपछि दुवै खेलाडीसँग भेट गर्दै उनीहरूको बयान दर्ता गरेकी थिइन् ।

यो घटनामा एमआईजी पुलिस स्टेसनमा भारतीय न्याय संहिताअन्तर्गत महिलाको मर्यादा भंग गर्नका निम्ति आपराधिक बलको उपयोग र पिछा गर्ने ‘केस’ दर्ता गरिएको छ ।

प्रहरीका अनुसार, घटनाको समयमा एक बटुवाले आरोपितको मोटरसाइकलको नम्बर टिपोट गरेका थिए । सोहीअनुसार प्रहरीले आरोपितलाई गिरफ्तार गरेको हो ।

अस्ट्रेलियाली टोलीले शनिबार इन्दौरमा दक्षिण अफ्रिकाविरुद्ध महिला विश्वकपको अन्तिम लिग म्याच खेलेको थियो ।

प्रकाशित मिति: आइतबार, कात्तिक ९, २०८२  ११:२२
प्रतिक्रिया दिनुहोस्