site stats
बाह्रखरी :: Baahrakhari
विदेश
ट्रम्प भन्छन्– यस वर्षको अन्त्यसम्म भारतले रुसी तेलको आयात गर्ने छैन
फाइल तस्बिर ।

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार भारतले यस वर्षको अन्त्यसम्म रुसी तेलको आयातलाई धेरै हदसम्म कम गर्ने बताएका छन् । रुसका दुई ठूला तेल कम्पनीहरू रोसनेफ्ट र लुकोइललाई लक्षित गर्दै प्रतिबन्ध घोषणा गरेपछि ट्रम्पको अभिव्यक्ति आएको हो ।

उनले यसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको व्यक्तिगत आश्वासन प्राप्त गरेको उल्लेख गरेका छन् । ट्रम्पको भनाइले भारतप्रति उनको कठोर नीतिमा आएको नरमपनाको संकेत गर्ने बताइएको छ । भारतलाई लामो समयदेखि अमेरिकाले रुससँग ऊर्जा सम्बन्ध कायम राखेकोमा आलोचना गरेको थियो।

यसअघि, ह्वाइट हाउसमा नेटो महासचिव मार्क रुटेसँगको बैठकको दौरान पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले कटौती विस्तारै तर महत्त्वपूर्ण हुने बताएका थिए ।

“भारतले मलाई उनीहरूले यसलाई रोक्ने बताएका छन् । यो एउटा प्रक्रिया हो; तपाईं यसलाई तुरुन्तै रोक्न सक्नुहुन्न । तर, वर्षको अन्त्यसम्म, यो लगभग शून्य हुनेछ । यो धेरै ठूलो कुरा हो,” राष्ट्रपतिले भने ।

“भारत धेरै राम्रो रहेको छ । हिजो मैले प्रधानमन्त्री मोदीसँग कुरा गरेँ । उहाँ बिल्कुल सानदार हुनुहुन्थ्यो,” ट्रम्पले अगाडि थपे, “विश्वव्यापी बजारहरूमा स्थिरता सुनिश्चित गर्नका लागि यो चरणबद्ध तरिकाले हुनेछ । तर मलाई के विश्वास छ भने यो वर्षको अन्त्यसम्म पूरा हुनेछ।”

तर, भारतले रुसबाट तेल आयात कटौती गर्ने ट्रम्पको दाबीलाई लगातार अस्वीकार गर्दै आएको छ । उसले आफ्नो प्राथमिकता 'राष्ट्रिय हितको रक्षा गर्नु' नै रहेको बताउने गरेको छ ।

ट्रम्पको दाबी पहिलो भने होइन । यसअघि, पनि ट्रम्पले भारतले यस वर्षको अन्त्यसम्ममा रुसी तेल आयात कटौती गर्ने बताएका थिए ।

टाइम्स अफ इन्डियाबाट ।

प्रकाशित मिति: आइतबार, कात्तिक ९, २०८२  १७:०१
प्रतिक्रिया दिनुहोस्