काठमाडौं । भारतको दिल्लीमा वायु प्रदूषण ए : २.५ को स्तर जनवरीपछिकै उच्च विन्दुमा पुगेपछि आपतकालीन हस्तक्षेपको माग पुनः उठेको छ ।
तीमध्ये मौसम परिवर्तनमार्फत वायु प्रदूषणसँग जुध्न क्लाउड सिडिङमार्फत कृत्रिम वर्षा गराउने दिल्ली सरकारले महत्वाकांक्षी योजना बनाएको छ । पहिले बादलको अभावका कारण ढिलाइ भए पनि यो परियोजना अब सञ्चालनको तयारी चरणमा प्रवेश गरेको छ ।
दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले मौसम अनुकूल रहेमा दिल्लीमा अक्टोबर २९ मा पहिलो कृत्रिम वर्षा हुनसक्ने बताएकी छिन् ।
सामाजिक संजाल एक्समा अद्यावधिक जानकारी साझा गर्दै उनले लेखिन्, “दिल्लीमा पहिलो पटक क्लाउड सिडिङमार्फत कृत्रिम वर्षा गराउने तयारी पूरा भएको छ, जुन राजधानीको वायु प्रदूषणविरुद्धको लडाइँमा एक महत्त्वपूर्ण प्राविधिक कोसेढुंगा हो ।”
गुप्ताले भारत मौसम विभागले अक्टोबर २८ र ३० बीचमा बादल लाग्ने अवस्थाको पूर्वानुमान गरेको छ । उनले भनिन्,
“यदि, मौसम अनुकूल रहेमा दिल्लीले अक्टोबर २९ मा आफ्नो पहिलो कृत्रिम वर्षाको अनुभव गर्ने सम्भावना छ ।”
क्लाउड सिडिङ के हो र यसले कसरी काम गर्छ ?
क्लाउड सिडिङ भनेको वर्षा बढाउन प्रयोग गरिने मौसम परिवर्तनको प्रविधि हो । यसमा बादलभित्र प्रायः सिल्भर आयोडाइड वा नुनका कणहरूजस्ता विशेष पदार्थहरू छरिन्छन् । यी कणहरूले केन्द्रकको रूपमा काम गर्छन्, जसको वरिपरि जलवाष्प जम्मा भई अन्ततः वर्षाको रूपमा खस्छ ।
क्लाउड सिडिङ मुख्यतया दुई प्रकारका हुन्छन्, पहिलो हाइड्रोस्कोपिक क्लाउड सिडिङ । यसमा नुनमा आधारित कणहरू (जस्तै पोटासियम क्लोराइड वा सोडियम क्लोराइड) न्यानो बादलहरूको वेसमा छोडिन्छन् । यी कणहरूले पानीका थोपाहरूलाई एक आपसमा मिल्न र ठूलो आकारमा परिणत हुन सहयोग गर्छन्, जसपछि तिनीहरू वर्षाको रूपमा तल खस्छन् ।
दोस्रो, ग्लेसियोजेनिक क्लाउड सिडिङ हो । यसमा सिल्भर आयोडाइड वा ड्राई आइसजस्ता पदार्थहरू सुपरकुल्ड बादलहरूमा ‘इन्जेक्ट’ गरिन्छ । यी कणहरूले बरफका क्रिस्टलहरू बनाउँछन्, जसले पछि बढ्दै पग्लिएर वर्षाको रूपमा जमिनमा खस्छ ।
यी सामग्रीहरू प्रायः विमानमार्फत प्रयोग गरिन्छ । दिल्लीको सन्दर्भमा, क्लाउड सिडिङका लागि परिमार्जित सेसना–२०६ एच विमान उत्तर प्रदेश राज्यको मेरठमा तैनाथ छ ।
विमानले पहिचान गरिएका बादलहरूमा पखेटामा जडान गरिएका फ्लेयरमार्फत सिडिङ सामग्री छोड्छ, जसले विशिष्ट उचाइमा कणहरू छर्न मद्दत गर्छ ।
यो पहल आईआईटी कानपुरसँगको साझेदारीमा सञ्चालित रहेको छ, जसले प्राविधिक विशेषज्ञता प्रदान गरिरहेको छ । र, भारतका अन्य राज्यहरूमा यसअघि पनि परीक्षण गरिसकेको छ ।
दिल्लीमा क्लाउड सिडिङको पहिलो परीक्षण सफल
बिहीबार दिल्लीले क्लाउड सिडिङ कार्यक्रमका लागि पहिलो परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । विमान र उपकरणको तयारी परीक्षणका लागि खेक्रा र बुराडीबीच फ्लेयरहरू प्रज्वलन गरिएको थियो ।
दिल्ली सरकारको वातावरण विभाग र आईआईटी कानपुरद्वारा संयुक्त रूपमा गरिएको चार घण्टाको उडानले कानपुर–मेरठ–दिल्ली–अलीगढ मार्गमा विमान सञ्चालन, सिडिङ फ्लेयरको प्रयोग र सम्बन्धित निकायबीचको समन्वय जाँच गर्यो ।
वातावरण मन्त्री मन्जिन्दर सिंह सिरसाले भने, “आजको उडान प्राविधिक रूपमा हरेक मापदण्डमा सफल भयो । हामीले अब फ्लेयर परीक्षण, फिटमेन्ट जाँच र समन्वय प्रोटोकलहरूसहित सबै आवश्यक तयारी पूरा गरेका छौँ ।”
उनले विमानदेखि मौसम विज्ञान र वातावरणीय अनुगमनसम्मका सबै प्रणालीहरू तयार रहेको बताए । “अब हामीले प्रतीक्षा गर्नुपर्ने एक मात्र कुरा उपयुक्त बादलहरूको आगमन हो,” उनले भने ।
सबै तयारीका चरण पूरा भएसँगै राजधानी अब प्राविधिक रूपमा आफ्नो पहिलो पूर्णस्तरीय क्लाउड सिडिङ र कृत्रिम वर्षाका लागि तयार भएको बताइएको छ ।
प्रदूषण उच्च भए पनि योजना किन ढिलाइ भयो ?
बादलविना वर्षा हुँदैन । क्लाउड सिडिङले सफा आकाशबाट वर्षा गराउन सक्दैन । यसले पहिलेदेखि नै रहेको चिस्यानयुक्त बादलहरूमा मात्र वर्षालाई बढावा दिन सक्छ ।
आईआईटी कानपुरका वैज्ञानिकहरूले यो प्रविधि प्रभावकारी हुन लक्षित बादलहरूमा कम्तीमा ५० प्रतिशत चिस्यान हुनुपर्ने बताएका छन् । सामान्यतया निम्बोस्ट्रेटस बादलहरूसँग सम्बन्धित अवस्था जमिनबाट ५०० देखि ६ हजार मिटरबीचमा हुन्छन् ।
तर, हाल दिल्लीको आकाश असामान्य रूपमा सुक्खा र पातलो रहेको छ । यो, सञ्चालन सुरु गर्न पर्याप्त बादल छैन ।
प्रदूषणमा कृत्रिम वर्षाको अपेक्षित प्रभाव के हो ?
हल्कादेखि मध्यम वर्षाले वायु प्रदूषणलाई अस्थायी रूपमा घटाउन सक्छ । मनि कन्ट्रोलका अनुसार, कृत्रिम वर्षाले वर्षाको फैलावट र तीव्रताका आधारमा सहरको वायु गुणस्तर सूचकांकलाई ५० देखि ८० अंकसम्म घटाउन सक्छ ।
उदाहरणका लागि यदि दिल्लीको एक्यूआई ‘अत्यन्त खराब’ श्रेणी (३००–४००)मा छ भने सफल वर्षाले यसलाई ‘खराब’ वा ‘मध्यम’ श्रेणीमा ल्याउन सक्छ ।
वर्षाले हावामा तैरिएका सुक्ष्म कणहरू विशेषगरी ए : २.५ र ए : १० लाई पखाल्न मद्दत गर्छ, जुन जाडोमा दिल्लीका प्रमुख प्रदूषक हुन् ।
तर, यो प्रभाव अस्थायी मात्र हुन्छ । सवारीसाधन, निर्माण कार्य, परालको दहन र औद्योगिक उत्सर्जन पुनः सुरु भएपछि एक्यूआई स्तरहरू केही दिनमै बढ्न थाल्छन्, जबसम्म दीर्घकालीन संरचनात्मक सुधारहरू गरिँदैनन् ।
भारतमा क्लाउड सिडिङ पहिले पनि प्रयास गरिएको छ ?
भारतका लागि क्लाउड सिडिङ नयाँ होइन । महाराष्ट्र, कर्नाटक, आन्ध्र प्रदेश, गुजरात र तमिलनाडुजस्ता राज्यहरूले खडेरीका समयमा, विशेषगरी कृषिका लागि यो प्रविधि प्रयोग गरेका छन् ।
इन्डियन इन्स्टिच्युट अफ ट्रपिकल मेटेरोलोजीले सन् १९७२ मा सबैभन्दा सुरुमा परीक्षण गरेको थियो । हालसालै कर्नाटक र महाराष्ट्रले खडेरीग्रस्त जिल्लाहरूमा पनि यसै प्रविधिको प्रयोग गरेका छन् । यद्यपि, सफलताको वैज्ञानिक मूल्यांकन अझै अनिश्चित छ ।
भारतीय वैज्ञानिकहरूले सञ्चालन गरेको क्लाउड एयरसोल इन्टर्याक्न एन्ड प्रेसिपिटेसन इन्ह्यान्समेन्ट एक्स्पेरिमेन्ट कार्यक्रमले अनुकूल अवस्थामा औसतमा १५–२० प्रतिशत वर्षा बढाउन सकिने सुझाव दिएको छ ।
तर, दिल्लीजस्तो घना सहरी वातावरणमा, विशेषगरी सुक्खा जाडोमा यसको प्रभावकारिता अझै अपरिक्षित छ ।
क्लाउड सिडिङले अल्पकालीन राहत दिन सक्ने भए पनि विशेषज्ञहरूले केही प्रमुख सीमाहरू औँल्याएका छन् ।
पश्चिमी वायुमा गडबडी र कमजोर मनसुनी अवशेषका कारण दिल्लीको जाडोमा लामो समय टिक्ने चिस्यानयुक्त बादलहरू विरलै देखिन्छन् । सिडिङ सफल भए पनि यसको प्रभाव अस्थायी मात्र हुन्छ, प्रदूषण पुनः बढ्ने सम्भावना रहन्छ । साथै सिल्भर आयोडाइड वा ड्राई आइसको प्रयोग नियन्त्रित मात्रामा सुरक्षित भए पनि बारम्बार प्रयोग हुँदा माटो र पानीमा जैविक सञ्चय हुनसक्ने आशंका रहन्छ ।
वर्षा प्राकृतिक रूपमा भयो वा सिडिङको कारणले यो निश्चित रूपमा प्रमाणित गर्न कठिन हुन्छ । यस्तो परीक्षणका लागि नियन्त्रित वातावरण र उन्नत उपकरणहरूको आवश्यकता पर्छ, जुन दिल्लीजस्तो सहरमा प्रायः उपलब्ध हुँदैन ।
भारतको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड र वायु गुणस्तर व्यवस्थापन आयोगले दिल्ली सरकारलाई क्लाउड सिडिङलाई प्राथमिक उपाय नभई प्रयोगात्मक विकल्पका रूपमा लिन सल्लाह दिएका छन् ।
भारतको टाइम्स आफ इन्डियाका अनुसार यी निकायहरूले सिडिङमा अत्यधिक निर्भरता नगर्न चेतावनी दिएका छन् । दिल्लीको प्रदूषण संकटको दीर्घकालीन समाधानका लागि संरचनात्मक सुधारमा ध्यान केन्द्रित गर्न आग्रह गरेका छन् । न्युज एटिन