site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
‘जेनजी’ सहिद र घाइतेको बलिदान खेर जान दिनु हुँदैन : मन्त्री गौतम

काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले ‘जेनजी’ आन्दोलनका सहिद र घाइतेको बलिदान खेर जान दिन नहुने बताएकी छन् । सोमबार (कात्तिक १०) बिहान सिनामंगलस्थित केएमसी अस्पतालमा उपचाररत जेनजी आन्दोलनका घाइतेसँगको भेटपछि सञ्चारकर्मीसँग उनले यस्तो बताएकी हुन् ।

उनले केएमसी अस्पतालले जेनजी आन्दोलनका क्रममा घाइते भएका ८३ जनाको उपचार गरेको जानकारी दिइन् । उनीहरूमध्ये हाल दुईजना मात्र उपचाररत रहेका उनले बताइन् ।

“केएमसीबाट ८३ जना जेनजी घाइतेहरूलाई उपचार गरिसक्नुभएको रहेछ । अहिले मैले दुईजना बिरामी हेरेँ । अरू सन्चो भएर जानुभयो,” उनले भनिन् ।

उपचाररत घाइतेमध्ये एक महिला हुन् । उनीमाथि आन्दोलनका क्रममा पेट्रोल बम प्रहार भएको पाइएको मन्त्री गौतमले बताइन् । अर्का एक घाइते गोली लागेर उपचाररत रहेका उनले जानकारी दिइन् । दुवै घाइतेको अवस्था सुधारोन्मुख रहेको उनले बताइन् ।

“एकजना महिलामाथि आन्दोलनका क्रममा पेट्रोम बम प्रहार भएको रहेछ, त्यो हेर्दा साह्रै दुःख लाग्यो । जेनजी छोरा रहेछन् । अर्को एक व्यक्तिलाई गोली लागेको रहेछ । उहाँको अवस्था जटिल नै छ । उहाँको अवस्था पनि सुधारोन्मुख रहेछ,” उनले भनिन्, “उपचारमा अस्पतालले धेरै राम्रो गरेको रहेछ ।”

सहिदको बलिदान खेर जान नदिनेतर्फ आफूहरू सचेत रहेको र भ्रष्टाचार निर्मूल, सुशासन कायम हुनुपर्ने जेनजीका माग बिर्सन नहुने उनले उल्लेख गरिन् । “यत्रो सहिद र घाइतेको बलिदान खेर जानु हुँदैन । हामी सबै त्यसतर्फ सचेत छौँ,” उनले भनिन्, “गुड गभर्नेन्सको मुद्दा हामीले बिर्सिनु हुँदैन ।”

सहिदको बलिदानको अवमूल्यन गर्न नहुनेमा उनले जोड दिइन् । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: सोमबार, कात्तिक १०, २०८२  ११:५८
प्रतिक्रिया दिनुहोस्