पोखरा । जेनजी आन्दोलनका क्रममा आगजनीमा परेको गण्डकी प्रदेशसभा भवन र सचिवालय ध्वस्त बने । संसदीय दलका कार्यालयदेखि सभा भवन, संसदीय समितिका कार्यालय खरानी बन्न पुगे ।
प्रदेशसभाका सबै दस्ताबेज खरानी बनेपछि प्रदेशसभा सचिवालयले सांसदहरूलाई फेरि व्यक्तिगत विवरण बुझाउन भनेको छ ।
प्रदेशसभा सचिव गोविन्द पौडेलले एक सूचना जारी गर्दै प्रदेशसभाका सदस्यहरूको लागि व्यक्तिगत विवरण फाराम भरेर पेस गर्न आग्रह गरेका छन् ।
सूचनामा २०८२ भदौ २४ गतेको ‘जेनजी आन्दोलन’का क्रममा सचिवालयमा भएको आगजनीबाट सबै व्यक्तिगत विवरण फाराम जलेर नष्ट भएको उल्लेख छ ।
गण्डकी प्रदेशसभा नियमावली, २०५० को नियम २०३ अनुसार प्रत्येक सदस्यले नियमावलीको अनुसूची–६ बमोजिमको ढाँचामा व्यक्तिगत विवरण फाराम भरेर सचिवालयमा पेस गर्नुपर्ने व्यवस्था छ । तर, आगजनीका कारण ती फारामहरू पूर्ण रूपमा नष्ट भएपछि सचिवालयले सबै सदस्यहरूलाई २०८२ कार्तिक मसान्तभित्र पुनः विवरण फाराम बुझाउन आग्रह गरेको हो ।
सचिवालयले फाराम भर्दा तीनवटा कागजातहरू अनिवार्य रूपमा संलग्न गर्नुपर्ने पनि जनाएको छ । जसमा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, निर्वाचन आयोगबाट प्रदेशसभा सदस्य पदमा निर्वाचित भएको प्रमाणपत्रको प्रतिलिपि र पासपोर्ट साइजका दुई प्रतिफोटो रहेका छन् ।