site stats
बाह्रखरी :: Baahrakhari
विदेश
ट्रम्प दक्षिण कोरिया आउनुअघि नै उत्तर कोरियाद्वारा मिसाइल परीक्षण

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दक्षिण कोरिया पुग्नुभन्दा केही घण्टाअघि उत्तर कोरियाले अर्को मिसाइलको परीक्षण गरेको छ ।

ट्रम्प दक्षिण कोरियाको यात्रामा छन् । उनले त्यहाँ एसिया प्यासिफिक आर्थिक सहयोगको बैठकमा भाग लिनेछन् ।

उत्तर कोरियाले जमिनबाट हावामा मार हान्ने मिसाइलहरूको परीक्षण गरेको दाबी गरेको छ । बीबीसीका दक्षिण कोरिया संवाददाता जेक क्वोनका अनुसार यो परीक्षणलाई उत्तर कोरियाको परमाणु हतियारहरूलाई वैधानिकता दिने प्रतीकात्मक प्रयासको रूपमा हेरिएको छ ।

सरकारी सञ्चार माध्यमका अनुसार, मिसाइलहरूलाई सिधा माथितिर प्रक्षेपण गरिएको थियो । ती लगभग सात हजार ८०० सेकेन्डसम्म हावामा रहेका थिए ।

संचारमाध्यममा ट्रम्पले यो भ्रमणका क्रममा उत्तर कोरियाली नेता किम जोङ उनसँग भेटवार्ता गर्नसक्ने भनिए पनि हालसम्म भेटवार्ता हुने/नहुने यकिन छैन ।

आज ट्रम्पले दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङसँग भेटवार्ता गर्ने बताइएको छ । दक्षिण कोरियालाई अमेरिकासँगको व्यापार सम्झौतालाई अन्तिम रूप दिने दबाब परेको बताइएको छ । बीबीसी
 

प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०८२  १०:२२
प्रतिक्रिया दिनुहोस्