काठमाडौं । पाकिस्तान र अफगानिस्तानबीचको तनाव फेरि एकपटक उचाइमा पुगेको छ । चार दिनसम्म चलेको इस्तानबुल शान्ति वार्ता असफल भएपछि पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले बुधबार अफगान तालिबानलाई स्पष्ट धम्की दिएका छन् । आसिफले पाकिस्तानमा कुनै पनि आतंककारी हमला भएमा तालिबानलाई नष्ट गरिने र फेरि गुफामा लुक्न बाध्य पार्ने चेतावनी दिएका छन् ।
इस्तानबुलमा पाकिस्तान र अफगानिस्तानबीच चार दिनसम्म चलेको वार्ता कुनै ठोस निष्कर्षमा नपुगेपछि आसिफले यो बयान दिएका हुन् । अफगान भूमिको प्रयोग गरी पाकिस्तानमा आतंक फैलाइरहेका आतंककारीहरूविरुद्ध अफगान तालिबानले कारबाही गरोस् भन्ने पाकिस्तानको मुख्य माग थियो ।
आसिफले सामाजिक सञ्जालमा लेख्दै पाकिस्तानले भाइचारा भएका देशहरूको आग्रहमा वार्ताको मौका दिएको तर अफगान अधिकारीहरूको विषाक्त बयानले उनीहरूको विखण्डित र छलकपटपूर्ण व्यवहार प्रकट गरेको बताए ।
रक्षामन्त्रीले पाकिस्तानलाई तालिबान शासनलाई पूर्णतः समाप्त पार्न आफ्ना सम्पूर्ण हतियारको सानो अंशसमेत प्रयोग गर्नुपर्ने अवस्था नआउने बताए ।
आसिफले तालिबानमा रहेका उग्र समूहहरूले पाकिस्तानको साहस र संकल्पलाई गलत बुझेका बताए ।
यसैबीच संयुक्त राष्ट्रसंघले पाकिस्तान र अफगानिस्तानबीचको वार्ता असफल भएकोमा गहिरो चिन्ता व्यक्त गर्दै वार्ता रोकिएता पनि द्वन्द्वले पुनः उत्कर्ष नलिने जनाएको छ ।