काठमाडौं । सरकार, राजनीतिक दल र जेनजीका प्रतिनिधिबीच बुधबार (कात्तिक १२) बालुवाटारमा त्रिपक्षीय छलफल भयो । छलफलका क्रममा राजनीतिक दल र जेनजीले आ–आफ्नो धारणा राखेका थिए ।
बैठकमा राजनीतिक दलका प्रतिनिधिले निर्वाचन गराउने वातावरण अझै पनि बनिनसकेको हो की भन्ने धारणा राखेका थिए । नेकपा (एमाले)ले संसद् पुनर्स्थापना गरेर जेनजीको मागलाई सम्बोधन गरेर जान सकिने धारणा राखेको एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।
“बैठकमा राजनीतिक दलका प्रतिनिधिले निर्वाचन गराउने वातावरण अझै पनि बनिनसकेको हो की भन्ने धारणा राखेका थिए । संसद् पुनर्स्थापना गरेर जेनजीको मागलाई सम्बोधन गरेर जान सकिने एमालेको धारणा थियो,” बैठकमा उठाइएको धारणा उद्धृत गर्दै उनले भने ।
जेनजीका प्रतिनिधिले भने भ्रष्टाचार नियन्त्रण हुन नसकेको विषयमा, बेथिति र सामाजिक सञ्जालमा प्रतिबन्ध गरेको विषयमा आफूहरूले आन्दोलन गरेको बताएकाे पाण्डेले बताए । “जेनजीका प्रतिनिधिले भ्रष्टाचार नियन्त्रण हुन नसकेको विषयमा, बेथिति र सामाजिक सञ्जालमा प्रतिबन्ध गरेको विषयका बारेमा धारणा राख्नुभएको थियो,” उनले भने ।
जेनजीका प्रतिनिधिले संसद्मा रहेका राजनीतिक दलहरूलाई निर्वाचनमा आइदिन आग्रह गरेका थिए । उनीहरूले संसद् पुनर्स्थापना भनेर नबसिदिन आग्रह समेत गरेका थिए ।
“राजनीतिक दलले भाग नलिएको चुनाव हुन सक्दैन, संसद्मा रहेका राजनीतिक दलहरू निर्वाचनमा आइदिनुहोस्, संसद् पुनर्स्थापना भनेर नबसिदिनुस्, यही ढंगले अगाडि बढौँ भनेर प्रस्ताव राखेका थिए,” बैठकको भनाइ उद्धृत गर्दै उनले भने ।
जेनजीका प्रतिनिधि एवम् सुदूरपश्चिम संयोजक खेमराज साउदले तोकिएकै मिति फागुन २१ भित्र कसरी निर्वाचन सम्पन्न गर्ने भन्ने बारेमा छलफल भएको बताए । तोकिएकै मितिमा निर्वाचन गराउनेबारे सबै पार्टीको धारणा एउटै रहेको उनको भनाइ थियो ।
एमालेले संसद् पुनर्स्थापना हुनुपर्ने धारणा राखे पनि बैठकमा जेनजीका प्रतिनिधिले यो हुनुहुँदैन, यो भयो भने जेनजी आन्दोलनको उपलब्धिलाई संस्थागत गर्दै अगाडि लैजानुपर्छ भन्ने धारणा राखेको साउदले बताए ।
“देशमा परिवर्तन के आयो भन्ने होइन, ८० वर्षदेखि नेताहरूले देशलाई लुटिरहेका थिए, एउटा जुम्लाको नागरिकले नागरिकता बनाउनका लागि ४० वर्ष कुनुपर्ने स्थितिको अन्त्य गर्नका लागि जनताभित्र भएको वितृष्णा पोख्नका लागि जेनजी आन्दोलन भएको हो,” साउदले भने, “जेनजी आन्दोलन भइसकेपछि यसलाई कसरी संस्थागत गर्दै लैजाने भनेर आज छलफल भएको हो ।”
२०८४ को चुनावलाई ०८२ मा सार्यो भन्ने भाष्य गलत भएको उनको भनाइ थियो । “हामीले छलफलमा समयमै चुनाव हुनुपर्छ भनेका छौँ, समयमै चुनाव हुन्छ, समयमा चुनाव गर्नका लागि सरकार, राजनीतिक दल र जेनजी सबै सकारात्मक छौँ,” उनले भने ।
जेनजी आन्दोलनलाई संस्थागत गरेर मुलुकलाई सही बाटोमा लैजानका लागि जेनजीले सरकारलाई सहयोग गर्ने उनले बताए । उनले भने, “देशमा चुनाव गरेर निर्वाचित सरकार बनाउन हामी एकाकार भएर अगाडि बढ्छौँ ।”
जेनजीका अर्का प्रतिनिधि सागर ढकालले चुनावको विकल्प नभएको र कसरी गर्ने भन्नेबारे सबैले आ आफ्नो धारणा राखेको बताए । जेनजीले लिएको प्रविधिलाई राजनीतिक दलले अबलम्बन गर्नुपर्छ भन्ने कुरा पनि राखेको उनले बताए । प्रविधियुक्त चुनाव हुनुपर्छ भन्ने आवाज आफूहरूले उठाएको जानकारी दिए ।
सञ्चारमन्त्री जगदीश खरेलले सरकार, राजनीतिक दल र जेनजीका प्रतिनिधिबीच भएको छलफल उपलब्धि, महत्त्वपूर्ण र सौहार्दपूर्ण भएको बताए ।