site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
बालुवाटारमा आयोजित त्रिपक्षीय संवादमा प्रधानमन्त्री कार्कीले के भनिन् ? (मन्तव्यको पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विदेशी हस्तक्षेपको आरोप तर्साउने हतियार भएको बताएकी छन् । बुधबार राजनीतिक दल र जेनजीसँग भएको छलफमा कार्कीले आफूलाई कुनै पनि विदेशीले सरकार सञ्चालनबारे केही नभनेको बताइन् । 

“यहाँ विदेशीको कुरा पनि आयो । विदेशीले हस्तक्षेप गर्छ, यो गर्छ, त्यो गर्छ भन्ने कुरा पनि आयो,” प्रधानमन्त्री कार्कीले भनिन्, “तर, यो तर्साउने हतियार मात्र हो । यहाँ मलाई एउटा पनि कोही विदेशीले आएर यसो गर र नगर भनेको छैन ।” विदेशी हस्तक्षेपको कुरा गलत भाष्य भएको उनको भनाइ छ ।  

उनले आफूले कुनै पनि राजदूतसँग बालुवाटारमा नभेटेको पनि प्रष्ट पारिन् ।  

बुधबार राजनीतिक दल र जेनजीका प्रतिनिधिसँगको छलफलमा प्रधानमन्त्री कार्कीले रोखेको मन्तब्यको पूर्णपाठ :–

म यहाँ रहरले आएकी होइन । राष्ट्रपति कार्यालयमा म, ओमजी (ओमप्रकाश अर्याल) र मेरो श्रीमान् थियौँ । मैले राजनीतिक नेतासँग डिल गर्न सक्दिनँ, मेरो विधा परेन भनेकी थिएँ । म यतातिर लाग्दिनँ भनेर त्यहाँबाट हिँडेकी पनि हुँ ।

म त्यसरी हिँड्दा देशलाई यस्तो अफ्ठ्यारो परेका बेला, देशले खोजेका बेला जिम्मेवारी नलिने भनेर राष्ट्रपतिज्यूले भन्नुभयो ।
जेनजी युवाहरू मेरो घरैमा आएर अभिभावकत्व लिइदिन भन्नुभयो । प्रधानमन्त्री बन्नुपर्छ भनेर धरधरी रुनु पनि भयो । मैले ती निर्दोष बालबालिका निधारमा गोली लागेर ढलेको सम्झिएँ । ती घाइतेहरूको अनुहार हेरेँ । मेरो साथमा जनता छन्, मैले केही गर्नैपर्छ भन्ने लाग्यो र एउटा अठोटसाथ अगाडि आएँ । 

हामी सहिद परिवार, घाइते र ती प्रत्येक परिवर्तनकामी नेपाली युवाको आवाज सम्बोधन गर्न लागिपरेका छौँ । र, बलिदानी दिने सहिदका परिवार अनि घाइतेलाई पनि अलपत्र पार्दैनौँ । बोलेको पुर्‍याउँछौँ ।

हामी चुनावमा केन्द्रित छौँ । प्रत्येक दिन यसैगरी छलफल र गृहकार्य गर्छौं । कामको प्रगतिविवरण लिन्छौँ । समस्याहरू फुकाउन लागिपरेका छौँ । अविश्वासहरू चिर्दै विश्वासको वातावरण बनाउँदै छौँ, आत्मविश्वास उठाउँदै छौँ ।
 
प्रहरीको मनोबल पनि बढ्छ । भागेका कैदीबन्दीहरू पनि समातिन्छन् । 

३५ वर्षसम्म मनोबल गिराउन लागिपरेकाहरू अहिले मनोबलको कुरा गरिरहेको पनि देख्छु । भ्रष्टाचार, शोषण र विभेदले खस्काइएको मनोबल एकै महिनामा हामी कसरी उठाउँछौँ ? तर, हामी मनोबल उठाउन लागेका छौँ, उठ्छ । किनकि, हामी सपार्ने दिशामा छौँ ।

अब यहाँ विदेशीको कुरा पनि आयो । विदेशीले हस्तक्षेप गर्छ, यो गर्छ, त्यो गर्छ भन्ने कुरा पनि आयो । तर, यो तर्साउने हतियार मात्र हो । यहाँ मलाई एउटा पनि कोही विदेशीले आएर यसो गर र नगर भनेको छैन ।
 
हामीहरू राजदूत सिंहदरबारमा भेट्छौँ, बालुवाटारमा भेटेका छैनौँ । अहिलेसम्म शिष्टाचार भेट मात्र भएको छ । काम विशेषले हुने भेट मन्त्रीज्यूहरूले गर्नुभएको छ । हामीलाई कुनै विदेशीले खोजेको पनि छैन । त्यसैले विदेशी हस्तक्षेपको कुरा गलत भाष्य हो । 

अर्को कुरा यहाँको अनौठो चलन देखियो भने काम गर्न नदिने, अनि बातैपिच्छे काम गरेन भन्ने । हामी प्रयास गरिरहेका छौँ । हामी रोकिँदैनौँ । जतिसुकै बाधा र अवरोधहरू भए पनि फुकाउँदै अघि बढ्छौँ ।

यहाँ न्यायाधीशका कुरा पनि उठे । संसद् विघटनमा भएका निर्णयका पनि कुरा आए । के न्यायाधीशलाई सांसद, मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति बन्न संविधानले रोकेको छ ? न्यायाधीश भइसकेको व्यक्ति चुनाव लड्न पाउँदैन भनेर संविधानमा लेखेको छ ? भारतमा न्यायाधीशहरू सांसद, मन्त्री भएका छन् । यहाँ यो असामान्य परिस्थितिमा हुँदा किन प्रश्न ? अचम्म छ । 

कहिलेकाहीँ त लाग्छ, हाम्रो नेपाली समाज कुरैकुरामा मात्र बाँचेको छ । काम गर्नु छैन । अरू देशमा राजनीति गर्नेले खेती पनि गर्छ । तर, यहाँ राजनीति मात्र गरेको छ । राजनीति गरेरै आर्यघाट जाने ।

मैले गोली लागेका ती रक्ताम्य युवा देखेको छु । गोलीको वर्षा भइरहेको त्यो जनसागरबीच नारा लगाइरहेका ती युवाको त्यसबेलाको भावभंगी देखेको छु । म त्यही सम्झेर काम गर्छु । मेरो प्रतिबद्धता यही छ ।

म पहिलादेखि लडाकु हुँ । मेरा परिवारका अरु सदस्य पनि लडाकु स्वभावकै हुनुहुन्छ । हामी डराउँदैनौँ । भनेको पुर्याउँछौँ ।
 
अनिलजी (अनिलकुमार सिन्हा) लाई अनुरोध गरेर ल्याएको (मन्त्री बनाएको) हुँ । उहाँजस्तो इमानदार र बुझेको मान्छे हुँदा धेरै काम सहज भएको छ । हेर्दै जानुहोस्, हामीले केके गर्दै छौँ ? हिजो थन्क्याएका फाइल खुलाउँदै छौँ । कति त समातिसकेका छन् । कतिलाई समात्दै छौँ । यदि, भ्रष्टाचार गरेको भेटिए मेरै स्वर्गीय बुवालाई पनि लगेर खोरमा थुन्न तयार छु । त्यो दृढताका साथ हामी अघि बढेका छौँ ।
 

प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०८२  ०८:१७
प्रतिक्रिया दिनुहोस्