काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले पार्टी अध्यक्ष माधवकुमार नेपाल र नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'लाई नेतृत्वबाट बिदा लिन सुझाव दिएका छन् ।
जारी केन्द्रीय कमिटी बैठकमा उनले समस्या मूल नेतृत्वमा भएको बताए । “प्रचण्ड र माधव कमरेड सँगै हुँदा पनि मैले भनेको छु । मूल नेतृत्वले बिदा लिनुहोस्, पार्टी पुनर्गठन गरौँ । अहिलेको समस्या आउनुमा मूल नेतृत्व नै मुख्य जिम्मेवार हो,” उनले बैठकमा भनेका छन् ।
उनले आफू माओवादीसँगको एकता प्रक्रियामा सहभागिता नभएको पनि बताएका छन् ।
“एकताको प्रक्रियामा मेरो सहभागिता छैन । सुरुबाट नै मैले भनेको प्राविधिक कुरा होइन राजनीतिक कुरामा केन्द्रित हुनुपर्छ । अहिलेको समाजलाई सम्बोधन गर्ने गरी हामीले हाम्रो नीति र संगठन बनाउनुपर्छ,” भुसालले भनेका छन् ।
माओवादीसँगको एकता ठिक ढंगले नभए ठूलो दुर्घटना हुन सक्ने ठम्याइ भुसालको छ ।
“माओवादीसँगको एकताको कुरा गरिरहेका छौँ, ठिक ढंगले र वर्तमान समस्यालाई सम्बोधन हुने गरी भएन भने झन् ठूलो दुर्घटना ल्याउने छ । स्वयं माओवादी पनि सिंगल रहने छैन,” भुसालको टिप्पणी छ ।
उनले प्रचण्ड र माधवले राजनीतिक अवकाश नलिएसम्म दुई पार्टीबीच एकता हुन नसक्ने दाबी गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।
“प्रचण्ड र माधव नेपालले राजनीतिक अवकाश नलिसम्म दुई पार्टीबीच एकता हुन सक्दैन । हामी मान्दैनौँ भन्ने कुरा गर्नुभएको छ,” ती केन्द्रीय सदस्यले भने ।