काठमाडौं । ललितपुरमा हत्या आरोपमा प्रहरीले एक वृद्धलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–२२, फोइचाका ८१ वर्षीय कान्छा पुतुवार छन् ।
काठमाडौंको दक्षिणकाली नगरपालिका–९ का ५५ वर्षीय धने भनिने धनबहादुर तामाङको हत्या आरोपमा बिहीबार (कात्तिक १३) बिहान ललितपुर–२२ बाटै उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर ललितपुरको विशेष टोलीले पुतुवारलाई पक्राउ गरेको हो ।
बुधबार (कात्तिक १२) तामाङको हत्या गरेको पुतुवारमाथि आरोप छ । पुतुवारको घरमा बस्दै आएकी एक महिलासित तामाङको आर्थिक कारोबार रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ ।
तामाङ ती महिलालाई भेट्न पुतुवारको घरमा आउने जाने गरेका थिए । बुधबार भने मदिरा सेवन गरेर पुगेका तामाङले ती महिलामाथि दुर्व्यवहार गरेको खुलेको छ ।
त्यसपछि पुतुवारले तामाङलाई सम्झाएर पठाउन खोज्दा पनि जान नमानेपछि धकेलेका थिए । त्यसक्रममा लडेका तामाङको टाउकोमा चोट लागेको थियो । घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
तामाङको मृत्युलगत्तै पुतुवार फरार थिए । बिहीबार बिहान भने उनलाई पक्राउ गर्न प्रहरीको टोली सफल भएको ललितपुरका एसपी चक्रराज जोशीले जानकारी दिए ।
घटनाको अनुसन्धान गर्न प्रहरीको तालिमप्राप्त कुकुर समेत प्रयोग गरिएको थियो । पुतुवारमाथि थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।