काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित विशिष्ट (भीआईपी) कक्ष ५० दिनदेखि बन्द छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्देशनमा त्रिुभवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले भीआईपी कक्ष बन्द गरेको हो ।
“उच्चस्तरीय निर्णयबाट भीआईपी कक्ष बन्द गरिएको हो,” त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रवक्ता रिन्जी शेर्पाले बाह्रखरीसँग भने, “नेपाल नागरिक उड्डयन प्राधिकरणबाट बन्द गर्न भनिएको हो ।”
गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्ष बन्द गरिएको थियो । त्यसपछि भीआईपी कक्ष खोलिएको छैन ।
भीआईपीहरूले अन्तर्राष्ट्रिय तथा आन्तरिक यात्र गर्दा भीआईपी कक्षको प्रयोग गर्ने गर्थे । जेनजी प्रदर्शन लगत्तै भीआईपी कक्ष बन्द गरिएपछि भीआईपीहरू सामान्य व्यक्तिकै लाइनमा बसी यात्रा गर्दै छन् ।
केही दिनअघि अर्थमन्त्री रामेश्वर खनालले अमेरिका जाँदा तथा आउँदा र उर्जामन्त्री कुलमान घिसिङ भारत जाँदा सामान्य नागरिककै लाइनमा बसेर यात्रा गरेका थिए ।
यसै साता नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्व परराष्ट्रमन्त्री आरजु राणा देउवा उपचारका लागि सिंगापुर जाँदा सामान्य व्यक्तिकै लाइनमा बसेका थिए ।
“जेनजी प्रदर्शनका समयमा सुरक्षाका कारण भीआईपी कक्ष बन्द गरिएको थियो,” प्रवक्ता शेर्पाले भने, “कुनै थप निर्णय नआएकाले भीआईपी कक्ष खोलिएको छैन ।”
नेपाली सेनाले गत असोज ३१ गत जंगी अड्डामा आयोजना गरेको पत्रकार सम्मेलनमा सेनाको युद्धकार्य विभागका प्रमुख उपरथी अनुपजंग थापाले जेनजी प्रदर्शनका क्रममा भदौ २४ गते दुई हजारको संख्यामा प्रदर्शनकारी त्रिभुवन विमानस्थलमा प्रवेश गर्न खोजेको जनाएका थिए ।
प्रदर्शनकारीहरू विस्फोटक पदार्थसहित विमानस्थलमा प्रवेश गर्न खोजेका थिए । सेनाले उनीहरूलाई रोक्न सफल भएको भनाई उपरथी थापाको थियो ।
प्रदर्शनकारी विमानस्थलमा प्रवेश गर्ने खतरा बढेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले भदौ २४ गते साढे २ बजे एक सूचना जारी गर्दै विमानस्थल बन्द गरेको जनाएको थियो ।
कार्यालयले भदौ २५ गते साढे ११ बजे अर्को सूचना जारी गर्दै विमानस्थल बन्द रहेकाले यात्रुहरूलाई विमानस्थलमा नआउन अनुरोध गरेको थियो । भदौ २५ गते नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा समितिको बैठक बसेको थियो ।
त्यसपछि त्यही दिन दिउँसो साढे ३ बजे कार्यालयले विमानस्थल पुनः सुचारु गर्ने निर्णय भएको सूचना जारी गरेको थियो ।
विमानस्थल सुचारु गरिए पनि भीआईपी कक्ष बन्ने अस्थायी रुपमा बन्द गर्ने निर्णय गरिएको थियो । त्यसपछि बन्द गरिएको भीआईपी कक्ष ५० दिन बित्दा पनि खोलिएको छैन ।
“सबैजना सामान्य यात्रु सरह आवत–जावत गरिरहनु भएको छ,” प्रवक्ता शेर्पाले भने ।
नेपाल राजपत्र खण्ड ६४ (साउन ५, २०७१) संख्या १२ को सूचनाको बुँदा (ख) (३) मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय तथा आन्तरिक टर्मिनल भवनस्थित भीआईपी कक्ष प्रवेश तथा प्रयोगका लागि तोकिएका पदाधिकारीहरूलाई सम्बन्धित निकायको पत्रका आधारमा प्रवेश अनुमति दिने व्यवस्था छ ।
उक्त व्यवस्थाअनुसार राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, पूर्व राष्ट्रपति, पूर्व उपराष्ट्रपति, पूर्व प्रधानमन्त्री, विदेशी राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरू, राजकीय भ्रमणका आउने विशिष्ट विदेशी पाहुनाहरूले भीआईपी कक्षको प्रयोग गर्न पाउँछन् ।
यस्तै, संघीय मन्त्रीहरू, मुख्यमन्त्रीहरू, प्रतिनिधिसभा/राष्ट्रियसभाका सभामुख र उपसभामुख, प्रदेशसभा सभामुख र उपसभामुख, संसदका प्रमुख विपक्षी दलका नेता, सर्वोच्च अदालतका प्रधानन्यायाधीश, प्रधानसेनापति, मुख्य सचिव, महानियन्त्रकहरू, विदेशी राजदूतहरूले भीआईपी कक्ष प्रयोग गर्न पाउने व्यवस्था छ ।
सरकारी प्रयोजनको भ्रमणमा मात्र भीआईपी कक्षको प्रयोग गर्न पाउने व्यवस्था छ ।
