site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राष्ट्रिय झन्डा दुरुपयोग रोक्न माग

काठमाडौं । चन्द्रसूर्य अंकित नेपालको राष्ट्रिय झन्डा दुरुपयोग रोक्न नागरिकस्तरबाट सरकारसँग माग गरिएको छ । राष्ट्रिय झन्डाको व्यापक दुरुपयोग हुन थालेपछि त्यसलाई रोक्न नागरिकस्तरबाट माग गरिएको हो । 

पूर्वमन्त्रीहरू ज्वालाकुमारी शाह, भगवती न्यौपाने, पूर्वराज्यमन्त्री विमला विक र राष्ट्रियसभाका सांसद भैरवसुन्दर श्रेष्ठ, एमालेका नेताहरू पार्वती रावल, पार्वती विशुंके, अइन्द्रसुन्दर नेम्वाङ, सूर्य ढकाल, हरि राजवंशी, अफिलाल ओखडा, गोविन्द थापा र लेखक तथा विश्लेषक प्रा. डा. योगेन्द्र गुरुङ, डा. पदम खतिवडा र सौरमराज तुलाधर लगायतले दुरुपयोग रोक्न माग गरेका हुन् ।

उनीहरूले हालैका आगजनी, तोडफोड, डकैती, चोरी जस्ता घटनामा पक्राउ परेकाहरूले राष्ट्रिय झन्डा ओढेर त्यस्तो दुष्कर्म गरेका बताएका छन् । उनीहरूमाथि झन्डा दुरुपयोग गरेकोमा पनि थप कारबाही हुनुपर्ने माग गरेका छन् । 

राष्ट्रिय झन्डा देखाएर जनतालाई भावनात्मक ब्ल्याकमेलिङ गर्दै आफ्नो निहित राजनीतिक स्वार्थ पूर्ति गर्न खोजिएको उनीहरूले एक अपिल जारी गरेर बताएका हुन् ।

अपिलमा लेखिएको छ, “राष्ट्रिय झन्डा हाम्रो एकताको प्रतीक हो । राजनीतिक विभाजनको मुद्दा तथा विषयमा राष्ट्रिय झन्डा प्रयोग गरेर आफ्ना विचार तथा मुद्दा स्थापित गर्नु किमार्थ पनि सम्मान र मर्यादा राखेको ठहर्दैन । निहित स्वार्थ तथा कुत्सित उद्देश्य राखेर राष्टिय झन्डाको प्रयोग गर्न निषेध गरिनुपर्छ । आफ्नो निहित राजनीतिक मुद्दा स्थापित गर्न राष्ट्रिय झन्डा देखाएर, राष्ट्रिय झन्डा अगाडि सारेर जनतालाई भावनात्मक ब्ल्याकमेलिङ गर्नु अनैतिक हो ।”

उनीहरूले राष्ट्रिय झन्डा र राष्ट्रिय गानको प्रयोगसम्बन्धी कार्यविधि, २०६९ लाई कार्यान्वयन गर्न, यसलाई समयानकूल संशोधन गर्न पनि माग गरेका छन् । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १४, २०८२  २१:२८
प्रतिक्रिया दिनुहोस्