काठमाडौं । लागूऔषध (ड्रग्स) तस्करीलाई लिएर अमेरिका र भेनेजुएलाबीच तनाव बढ्दै गएको छ । यस्तो अवस्थामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा कुनै पनि सैन्य हमला गर्ने अमेरिकाको योजना नरहेको स्पष्ट पारेका छन् ।
ट्रम्पको यो भनाइ अमेरिकाले भेनेजुएलामा लागूऔषध तस्करी रोक्न हवाई हमला गर्ने योजना बनाइरहेको दाबी गरिएका रिपोर्टहरू सार्वजनिक भएपछि आएको हो । ट्रम्पले भने, “होइन, यो सत्य होइन ।”
हालसालै अमेरिकी युद्ध (रक्षा) सचिव पिट हेगसेथले नौसेनाको सबैभन्दा आधुनिक एयरक्राफ्ट क्यारियर ‘यूएसएस जेराल्ड आर फोर्ड’लाई युरोपबाट क्यारिबियन क्षेत्रमा तैनाथ गर्न आदेश दिएका थिए ।
यसैबीच, सिनेटर लिन्डसे ग्राहमले पनि भेनेजुएलामा जमिनबाट हमलाहरू हुनसक्ने चेतावनी दिएका थिए, जसले ल्याटिन अमेरिकामा लागूऔषध सञ्जालमाथि अमेरिकाको कारबाही तीव्र भएको संकेत गर्छ ।
संयुक्त राष्ट्रसंघले यी कारबाहीहरूमाथि कडा आपत्ति जनाएको छ । संयुक्त राष्ट्रसंघका मानवअधिकार प्रमुख भोल्कर टुर्कले भने, “क्यारिबियन र प्रशान्त क्षेत्रमा डुंगाहरूमाथि भएका अमेरिकी हमलाहरूमा ६० भन्दा बढी मानिस मारिएका छन्, जुन अन्तर्राष्ट्रिय कानुनको उल्लंघन हो ।” उनले अमेरिकालाई तत्काल यी हमलाहरू रोक्न र ‘न्यायिक प्रक्रियाबिना गरिएका हत्याहरू’ समाप्त गर्न माग गरेका छन् ।
अमेरिकाले हालैका हप्ताहरूमा क्यारिबियन र प्रशान्त महासागरमा लागूऔषध बोकेका डुंगाहरूमाथि हवाई हमलाहरू जारी राखेको छ ।
बुधबार भएको एक हमलामा चारजनाको मृत्यु भएको थियो । सेप्टेम्बरको सुरुदेखि अहिलेसम्मको १४औँ हमला हो । १५औँ डुंगा नष्ट भएको छ । यी हमलाहरूमा कुल मिलाएर ६१ भन्दा बढी मानिसको मृत्यु भइसकेको छ । रोयटर्स