काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति रोनाल्ड रेगनको भनाइ प्रयोग गरी बनाइएको ‘ट्यारिफ’विरोधी विज्ञापनसम्बन्धी विवाद अझै साम्य भएको छैन ।
क्यानडाको उक्त विज्ञापनप्रति असन्तुष्टि जनाउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापार वार्ता स्थगन गरेका थिए । उनले क्यानाडेली सामानमाथि १० प्रतिशत अतिरिक्त ट्यारिफ लगाउने घोषणा समेत गरेका थिए ।
क्यानडाका प्रधानमन्त्री मार्क कर्नीले ट्यारिफविरोधी विज्ञापन प्रसारणका विषयमा अमेरिकी राष्ट्रपति ट्रम्पसँग माफी मागेको बताएका छन् । कर्नीले ट्रम्पसँग एन्टी ट्यारिफ विज्ञापन प्रसारणका विषयमा शनिबार माफी मागेको पुष्टि गरेका हुन् ।
विज्ञापनको प्रतिक्रियास्वरूप गएको साता ट्रम्पले क्यानडासँगको ट्यारिफ वार्ता रोकेका थिए । र, क्यानडाबाट आयातित सामानमाथि १० प्रतिशत अतिरिक्त ट्यारिफ लगाउने बताएका थिए ।
दक्षिण कोरियामा जारी एसिया प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक) शिखर सम्मेलनमा शनिबार पत्रकारसँग क्यानडाका प्रधानमन्त्रीले आफूले अमेरिकी राष्ट्रपतिसँग माफी मागेको जानकारी दिए ।
उक्त विज्ञापनमा पूर्वराष्ट्रपति रेगनले सन् १९८७ मा दिएको रेडियो सन्देशको क्लिप प्रयोग गरिएको थियो । त्यहाँ उनले ट्यारिफले अमेरिकी अर्थतन्त्रलाई हानि पुर्याउने तर्क गरेका थिए ।
कर्नीले ओन्टारियोका प्रिमियर डग फोर्डलाई ट्यारिफविरोधी विज्ञापन प्रसारण नगर्न आग्रह गरेको पनि बताए । उक्त विज्ञापन क्यानडाको ओन्टारियो प्रान्तीय सरकारले प्रसारण गरेको थियो ।
“प्रसारण हुनुअघि मैले विज्ञापन देखेको थिएँ र ओन्टारियो सरकारलाई यो नचलाउन सल्लाह दिएको थिएँ,” उनले भने ।
अमेरिकामा प्रसारित ओन्टारियोको उक्त टेलिभिजन विज्ञापनमा पूर्वअमेरिकी राष्ट्रपति रेगनको भाषणको सन्दर्भ दिँदै ट्रम्पले लगाएको ट्यारिफको आलोचना गरिएको थियो ।
एसियाको नौदिने भ्रमण पूरा गरेपछि पत्रकार सम्मेलनमा कर्नीले भने, “प्रधानमन्त्रीका रूपमा म अमेरिकी राष्ट्रपतिसँगको सम्बन्धका निम्ति जिम्मेवार छु र संघीय सरकार अमेरिकी सरकारसँगको वैदेशिक सम्बन्धका लागि जिम्मेवार छ ।” बीबीसीबाट ।