site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
‘भद्रगोल’ पथमा माओवादी–एकीकृत समाजवादी !

काठमाडौं । एकता गर्ने निर्णयसँगै नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) दुबै पार्टीमा ‘भद्रगोल’ भएको छ । अब दुबै पार्टी सग्लो नहुने निश्चित जस्तै छ । माओवादी र एकीकृत समाजवादीसहितको भेला यही कात्तिक १९ गते राखिएको छ । माओवादीले १८ गते महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण भएको केन्द्रीय कमिटीको बैठक बोलाएको छ । 

तर, उता पार्टी एकताको निर्णय भएको भोलिपल्टै शनिबार एकीकृत समाजवादीका ‘सम्मानित नेता’ झलनाथ खनाल र महासचिव घनश्याम भुसाल पक्षले छुट्टै भेला गरे । उता माओवादी केन्द्रको सचिवालय बैठकमा शनिबार नै उपमहासचिव जनार्दन शर्माले पार्टीको निर्णय रोक्न माग गरे । उनी आफ्नो दस्तावेज छाडेर बैठकबाट निस्किए ।

उनी आइतबार बिहान सचिवालय बैठकमै गएनन् । उनी पार्टी पुनर्गठनको पक्षमा छन् । 

उता, एकीकृत समाजवादीका असन्तुष्ट पक्षले पार्टी पुनर्गठन र वाम धु्रवीकरण सँगै अघि बढाउने निर्णय गरेको छ । पुनर्गठन पक्षधरहरूसँग वार्ता गर्ने जिम्मा महासचिव घनश्याम भुसाललाई दिइएको छ । 

छिट्टै राष्ट्रिय भेला गर्ने तयारी रहेको नेता दामोदर अर्यालले जानकारी दिए । “हामी पुनर्गठन र धु्रवीकरण सँगसँगै अघि बढाउँछौं । राष्ट्रिय सम्मेलन गर्ने निर्णय हिजो नै गरेका छौं । दुई साताभित्र नै गर्ने गरी तयारीमा छौं,” अर्यालले भने ।

पार्टी एकता गर्न नहुने मत बोक्ने जनप्रतिनिधि वैधानिक संकटमा छन् । प्रदेशसभा सदस्यसमेत रहेका नेता नरेश शाही, लक्ष्मण लम्साल, कृष्ण खनाल, स्थानीय तहका जनप्रतिनिधि पार्टी एकताको पक्षमा उभिनुपर्ने अवस्थामा छन् ।

“एकता चाहिँ राजनीतिक भएन भन्नेमा छौं । तर, संसद्मा ह्वीप त मान्नपर्छ । त्यसैले विपक्षमा उभने सक्ने अवस्था छैन,” एक नेताले भने । 

एकीकृत समाजादीका निवर्तमान सांसदहरू अम्मरबहादुर थापालगायतका नेताहरू भने अन्यौलमा छन् । थापा भन्छन्, “आन्दोलनको पक्षमा केही नहुने भयो । सबैका आ–आफ्नै कुरा भए । के गर्ने, कसो गर्ने अन्योलमा छौं । भद्रगोल नै भयो नि !”

पार्टी एकताको पक्षमा रहेका नेताहरू भने सबैलाई समेट्ने प्रयास भइरहेको बताउँछन् । पार्टीका उपाध्यक्ष जगन्नाथ खतिवडाले भने, “पार्टी एकता गर्ने निर्णय सर्वसम्मत् भएको हो । केही असन्तुष्ट साथीहरूलाई मनाउन अन्तिम प्रयास गर्नेछौं ।”

एक हुन झलनाथ–घनश्याम पक्षका सर्त 

माधवकुमार नेपालसँग छुटिँदै भेला राखेका भलनाथ–घनश्याम पक्षले पार्टीसँग ध्रुवीकरणका लागि सर्त राख्ने तयारी गरेको छ । नेतृत्वमा रहेकाहरूले छाडे बृहत् वामपन्थी एकता हुन सक्ने निष्कर्ष उनीहरूको छ । 

असन्तुष्ट पक्षका नेता जीवनराम श्रेष्ठ  माओवादी केन्द्रसँगको एकताले हालको माग पूरा गर्न नसकिने उनीहरूको निष्कर्ष । “जुन एकता हो, त्यसले नेपाली समाजको आवश्यकता, जेनजीका माग पूरा गर्न सक्दैन । एकीकृत समाजवादीलाई नै सशक्त गरेर लैजाउनुपर्छ ।”

एकता प्रक्रियामा जाने भए माओवादी महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पार्टी अध्यक्ष माधवकुमार नेपालले पद छाड्नुपर्ने सर्त असन्तुष्ट पक्षको छ । त्यसो भए मात्र पुनर्गठन हुन सक्ने निष्कर्षमा असन्तुष्ट नेता पुगेका छन् ।

“माधव नेपालले छाड्छु भन्नुभएको छ, उहाँले मात्रै छाडेर हुँदैन । प्रचण्डले पनि छोड्नुपर्छ । त्यसपछि अघि बढ्न सकिन्छ,” श्रेष्ठ भन्छन् ।  उता, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले घर फर्कन आह्वान गरेका छन् । ओलीले नेतृत्व छाडे मात्रै छलफल गर्न सकिने श्रेष्ठ बताउँछन् ।

“एमाले पनि पहिला पुर्गठन हुुनुपर्यो नि । केपी शर्मा ओलीकै नेतृत्वमा त कसरी छलफल गर्न सकिन्छ ? जेनजी आन्दोलनमा प्रधानमन्त्रीको क्वाटरबाटै भाग्नुपर्ने अवस्था बन्यो । आजको अवस्था सिर्जना हुनुको जिम्मेवारी उहाँले लिनुपर्छ,” उनी भन्छन् । 

उनी ओलीजीकै नेतृत्वमा जाने, छलफल गर्ने कुरा नहुने बताउँछन् । बरु, एमालेमा पुनर्गठन चाहने नेताहरूसँग छलफल भइरहेको एक नेता बताउँछन् ।

त्यस्तै पुनर्गठनका कुरा गरिरहेका माओवादीका नेताहरूसँग पनि संवाद हुने ती नेताले बताए । 

कात्तिक महिनाभर नयाँ पार्टी दर्ताको समयले पनि दबाबमा नेताहरू छन् । पुनर्गठनसँगै दर्ताको विषय पनि सँगै लैजाने तयारी उनीहरूको छ । पुनर्गठनका कुरा गरिरहेकाहरू एक ठाउँमा आउने प्रयास गरिने बताउँछन् । झलनाथ खनाललाई अभिभावक मानेर भुसालको नेतृत्वमा अघि बढ्ने असन्तुष्ट पक्षका नेताहरू बताउँछन् ।
 

प्रकाशित मिति: आइतबार, कात्तिक १६, २०८२  १७:३३
प्रतिक्रिया दिनुहोस्