site stats
बाह्रखरी :: Baahrakhari
विदेश
नाइजेरियामा इसाईको हत्यापछि ट्रम्प आक्रोशित, दिए आक्रमणको धम्की

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इसाईहरूको हत्या र आक्रमण नरोकिए नाइजेरियाली सरकारलाई दिइने सबै आर्थिक तथा सैन्य सहायता तुरुन्त रोक्ने बताएका छन् ।

ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै आवश्यक परेमा अमेरिकाले नाइजेरियामा सुरक्षा कारबाही गर्ने र इसाईहरूमाथि हमला गरिरहेका ती आतंककारीहरूलाई समाप्त पार्ने बताए । ट्रम्पले सम्भावित सैन्य कारबाहीको तयारी गर्न आफ्नो ‘डिपार्टमेन्ट अफ वार’लाई आदेश दिइसकेको बताएका छन् ।

नाइजेरियामा जनवरीदेखि अगस्ट १० सम्म धार्मिक हिंसा बढेका कारण सात हजारभन्दा बढी इसाईहरूको हत्या गरिएको इन्टरनेसनल सोसाइटी फर सिभिल लिबर्टीज एन्ड द रूल अफ लको एक प्रतिवेदनले जनाएको छ । यी हत्याका लागि बोको हराम र फुलानी अतिवादी जस्ता आतंककारी संगठनहरू जिम्मेवार छन् ।

यसैबीच नाइजेरियाका राष्ट्रपति बोला अहमद टिनुबूले उनको  देश धार्मिक रूपमा असहिष्णु नरहेको बताएका छन् । संविधानले सबै धर्महरूको सुरक्षाको ग्यारेन्टी दिएको बताउँदै उनले देशको पहिचान नै धार्मिक स्वतन्त्रता र समान सम्मानमा आधारित भएको बताए । साथै, नाइजेरियाले कुनै पनि धार्मिक उत्पीडनलाई बढावा नदिने बताए । 

साथै, नाइजेरियाको विदेश मन्त्रालयले नागरिकहरूको धर्म, जाति वा नश्ल जे भए पनि सरकारले सबैको रक्षा गर्ने बताएको छ ।

केही हप्ताअघि अमेरिकी सिनेटर टेड क्रुजले पनि कंग्रेसलाई नाइजेरियालाई धार्मिक स्वतन्त्रताको उल्लंघन गर्ने देश घोषित गर्न अपिल गरेका थिए । ट्रम्पले पनि नाइजेरियामा इसाईहरू अस्तित्वको संकटबाट गुज्रिरहेको र उग्र इस्लामवादीहरू यी हत्याका लागि जिम्मेवार रहेको बताएका थिए ।

नाइजेरियाको २२ करोड जनसंख्यामा मुस्लिम र इसाईको जनसंख्या करिब बराबरी छ । देशमा बोको हराम जस्ता कट्टरपन्थी इस्लामिक संगठनहरूले लामो समयदेखि हिंसा गरिरहेका छन् ।

प्रकाशित मिति: आइतबार, कात्तिक १६, २०८२  १७:४३
प्रतिक्रिया दिनुहोस्