काठमाडौं । नेपाली कांग्रेसभित्र ‘छ भाइ’ ले परिचित नेताहरु नै विशेष महाधिवेशनका लागि तयार भएको पाइएको छ ।
विशेष महाधिवेशनको बहस चलाउँदै देशभरबाट हस्ताक्षर जुटाउने अभियानमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा चाहिँ नियमित महाधिवेशन कार्यतालिका ल्याउन जोडबल गर्दैछन् ।
तर, संस्थापनका ‘छ भाइ’ले नियमित महाधिवेशनको कार्यतालिका रोक्दै विशेष महाविधेशन नै ‘फेस’ गर्दा फाइदा हुने निष्कर्ष निकालेको एक नेताले जानकारी दिए । यसले गर्दा नियमित महाधिवेशनको कार्यतालिका ल्याउने प्रयासलाई असफल पारिने उनीहरुको तर्क छ ।
शुक्रबार महामन्त्रीद्वयले कार्यतालिका नभई केन्द्रीय समिति बैठकमा सहभागी नहुने भनी राखेको अडानले आइतबारसम्म बैठक रोकियो । त्यही अडानका कारण बैठक पुनः मंगलबारसम्मका लागि स्थगित भएको छ । तर, अझै पनि सहमतिको आधार भेटिएको छैन ।
महामन्त्रीद्वयका विशेष महाविधेशनको मुद्दा कांग्रेस संस्थापन पक्षका ‘छ भाइ’ले ‘हाइज्याक’ गरेपछि यस्तो अवस्था सिर्जना भएको हो ।
“हिजो महामन्त्रीज्यूहरूले विशेष महाधिवेशन भन्नुभयो । आज त्यो मुद्दा संस्थापन पक्षका ‘छ भाइ’ले पनि आफ्नो मुद्दा बनाउनुभएको छ,” एक पदाधिकारीले बाह्रखरीसँग भने, “नियमित महाधिवेशनसमेत हुन नदिन ‘छ भाइ’ले जसरी पनि कार्यतालिका रोक्ने अभियान अघि बढाएको पाइन्छ ।”
ती पदाधिकारीका अनुसार, कार्यतालिका आउन नदिने ती छ भाइको साथमा संस्थापन पक्षका सबै नेताहरू छैनन् ।
‘छ भाइ’ समूहको सक्रियता
संस्थापन पक्षका ‘सात भाइ’ मध्ये पूर्वमहामन्त्री डा. शशांक कोइराला उनीहरूको मुद्दाभन्दा फरक ठाउँमा छन् । अरु ‘छ भाइ’मा प्रकाशमान सिंह, विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, विजय गच्छदार, कृष्ण सिटौला र डा. प्रकाशशरण महत छन् ।
अर्का पूर्वमहामन्त्री प्रकाशमान सिंहले आफ्ना धारणा राखिरहेका छैनन् । उनले आफ्नो धारणा नराखे पनि विशेष महाधिवेशनकै पक्षमा भएको कांग्रेस नेताहरु बताउँछन् ।
अनि निधि, सिटौला, महत प्रतिनिधिसभा चुनावअघि हुनेगरी महाधिवेशन कार्यतालिका ल्याउन नहुने अडानमा छन् । जसमा बालकृष्ण खाँण, रमेश रिजाल र रमेश लेखक पनि उभिएका छन् ।
सँगै सहमहामन्त्रीहरू महेन्द्र यादव, उमाकान्त चौधरी र किशोरसिंह राठौरले साथ दिएका छन् । राठौरले त संस्थापन पक्षका पदाधिकारी बैठकमा लाइनभन्दा बाहिर नबोल्न चेतावनी नै दिएका छन् । समूहको तर्फबाट महाधिवेशन कार्यतालिका ल्याउने जिम्मा सहमहामन्त्री उमाकान्त चौधरी र महेन्द्र यादवले लिएका छन् ।
उनीहरूले बैशाखमा महाधिवेशन गर्नेगरी तालिका तयार भएको भन्दै संस्थापन इतर पक्ष आफ्नो प्रस्तावका पक्षमा आउने दाबी लिएका छन् ।
“हामीले वैशाखमा १५औँ महाधिवेशन गर्नेगरी कार्यतालिका तयार पारिसकेका छौँ । उनीहरूले जहिले केन्द्रीय समितिमा पेस गर्छन्, हामी त्यसै दिन पेस गर्छौँ । कुन प्रस्ताव पारित हुन्छ, हेरौँला,” शनिबारको संस्थापन पक्षीय पदाधिकारी बैठकमा सहमहामन्त्री चौधरीले भनेका थिए ।
आइतबार केन्द्रीय समिति बैठक स्थगित भएपछि पनि संस्थापन पक्षका पदाधिकारी, पूर्वपदाधिकारी र कार्यसम्पादन समितिमा रहेका साथै निर्णय तहका अन्य नेताहरू समेत थपेर बैठक बसेको छ ।
कार्यवाहक सभापतिको मध्यमार्गी प्रस्ताव
उक्त बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीलाई विभाजित हुन नदिन प्रतिनिधिसभा चुनाव भए महाधिवेशन पछि सार्ने र चुनाव सरेमा महाधिवेशन अघि गर्नेगरी कार्यतालिकासहित अघि बढ्न प्रस्ताव गरेका छन् ।
तर, ‘छ भाइ’का तर्फबाट उक्त प्रस्ताव स्वीकृत भएको छैन ।
उनीहरूले चुनाव अघि हुनेगरी कुनै पनि हालतमा कार्यतालिका ल्याउन नहुने तर्क गर्दै वैशाखमा हुनेगरी कार्यतालिका ल्याउन महामन्त्रीहरू सहमत भए मात्र साझा कार्यतालिका पेस हुने अडान राखेका छन् ।
“उहाँहरू (‘छ भाइ’) विशेष महाधिवेशन नै होस् भन्ने पक्षमा उभिनुभएको छ । महामन्त्रीहरूले बोकेको मुद्दा हाल आएर उहाँहरूले बोकिदिनुभएको छ,” ती पदाधिकारीले बाह्रखरीसँग भने, “कृष्ण सिटौलाले ‘अब हुन्छ नै भने विशेष महाधिवेशन नै होस्’ भनी नेताहरूलाई भनिरहनुभएको छ ।”
उनले विशेष महाधिवेशनको संस्थापन पक्षले मुद्दा बोकिदिँदा महामन्त्री थापा थप संकटमा पर्ने विश्लेषण गरेका छन् ।
“विशेष महाधिवेशन भन्ने अभियान चलाउने अनि नियमित महाधिवेशनका लागि कार्यतालिका पेस गर्ने अभ्यास पार्टीभित्र थप असन्तुष्टि बढाएर फुटका लागि बलियो आधार तयार पार्नु हो,” सिटौलाको भनाइ उद्धृत गर्दै ती पदाधिकारीले भने, “चुनावअघि नियमित महाधिवेशन सम्भव छैन । गर्नु नै पर्ने अवस्था बनेमा विशेष महाधिवेशन नै होस् ।”
निर्वाचनमा पार्टीलाई एक ढिक्का बनाएर जाने पक्षमा भएमा महामन्त्रीद्वय थापा र शर्मा चुनावपछि नियमित महाधिवेशनको मुद्दामा आउने सिटौलाको दाबी छ ।
ती पदाधिकारीका अनुसार, कार्यवाहक सभापति खड्काले नियमित महाधिवेशनका लागि कार्यतालिका ल्याउने विषयमा साझा सहमतिमा पुग्नुपर्ने बताएका छन् । त्यसमा संस्थापन पक्षका सहमहामन्त्रीद्वय भीष्मराज आङदेम्बे र महालक्ष्मी उपाध्याय डिनाले साथ दिएका छन् ।
पूर्वउपसभापति विजय गच्छदारले पनि चुनाव अघि वा पछि जहिले महाधिवेशनमा गए पनि पार्टीभित्र बृहत्तर समझदारी हुनुपर्ने धारणा राखेका छन् ।
देउवा फर्किएपछि निर्णयको सम्भावना
ती पदाधिकारीका अनुसार, देउवा सिङ्गापुरबाट फर्किएपछि नियमित महाधिवेशन कार्यतालिका आउनेछ । देउवाकै सहमतिमै नियमित महाधिवेशन कार्यतालिका ल्याएर नेतृत्व हस्तान्तरणको पक्षमा रहेको दाबी गरिएको छ ।
संस्थापन पक्षकै सहमहामन्त्री फर्मुल्लाह मन्सुर संस्थापन पक्ष गम्भीर छलफलमा प्रवेश गरेको र एक–दुई दिनमा साझा समझदारीको बाटो तय हुने बताउँछन् ।
“समझदारी निर्माणकै लागि केन्द्रीय समिति बैठक स्थगित भएको हो । कसैले पनि पार्टी फुटोस् भन्ने चाहेको छैन,” सहमहामन्त्री मन्सुरले बाह्रखरीसँग भने ।
