site stats
बाह्रखरी :: Baahrakhari
विदेश
रुसको सहयोगमा आठ नयाँ आणविक ऊर्जा संयन्त्र बनाउने इरानको घोषणा
इरानको आणविक ऊर्जा संगठनका प्रमुख मोहम्मद इस्लामी । तस्बिर : एजेन्सी ।

तेहरान । इरानले रुसको सहयोगमा आठ नयाँ आणविक ऊर्जा संयन्त्र निर्माण गर्ने घोषणा गरेको छ । इरानको आणविक ऊर्जा संगठन (एईओआई)का प्रमुख मोहम्मद इस्लामीका अनुसार, यो परियोजना इरानको स्वच्छ र दिगो ऊर्जा उत्पादन क्षमतालाई विस्तार गर्ने राष्ट्रिय प्रयासको एक महत्त्वपूर्ण हिस्सा हुनेछ ।

इरान र रुसबीच बुसेहरमा चार तथा उत्तरी र दक्षिणी तटरेखामा थप चार आणविक ऊर्जा संयन्त्र निर्माणका निम्ति नयाँ सम्झौता सम्पन्न भएको तस्निम समाचार संस्थाले जनाएको छ ।

यी संयन्त्रले ‘स्थिर र स्वच्छ आणविक ऊर्जा’को आपूर्ति सुनिश्चित गर्ने र इरानलाई करिब २० हजार मेगावाट आणविक विद्युत् उत्पादन गर्न सक्षम बनाउने लक्ष्य राखिएको एइओआई प्रमुखले बताए ।

रुसी सञ्चार संस्था तासले एईओआईको प्रेस सर्भिसलाई उद्धृत गर्दै इरानको उत्तरी गोलेस्तान प्रान्तमा एउटा नयाँ आणविक संयन्त्रको निर्माण सुरु भइसकेको जानकारी दिएको छ ।

सन् १९७९ को इस्लामिक क्रान्तिपूर्व आरम्भ गरिएको खुजेस्तान प्रान्तको आणविक परियोजना पनि अब पूरा गर्ने योजना रहेको उल्लेख छ ।

यसैबीच, इरानका राष्ट्रपति मसूद पेजेस्कियानले इरानको ‘शान्तिपूर्ण आणविक कार्यक्रम’प्रति पुनः प्रतिबद्धता जनाएका छन् ।

“बम निर्माण गर्नु यो क्षेत्रको एउटा सानो, असमान र अमानवीय अंश हो, जबकि बाँकी वैज्ञानिक प्रयास मानव जीवनका आवश्यकताहरू पूरा गर्न केन्द्रित छन्,” राष्ट्रपति पेजेस्कियानले इरानको आणविक ऊर्जा संगठनको भ्रमणका क्रममा भने ।

उनले पश्चिमा शक्तिमाथि स्वतन्त्र राष्ट्रलाई उन्नत प्रविधिबाट वञ्चित गरी निर्भर बनाउने प्रयास गरेको आरोप समेत लगाए । “इरानी वैज्ञानिकहरूविरुद्ध भइरहेका हत्याका प्रयास र शत्रुता इरानको वैज्ञानिक तथा प्राविधिक स्वतन्त्रताप्रति केही शक्तिको भयको परिणाम हुन्,” उनले भने ।

गएको जुनमा इजरायलले नतान्ज र फोर्डोलगायत इरानका प्रमुख आणविक प्रतिष्ठानलक्षित हवाई आक्रमण गरेको थियो । १२ दिनसम्म चलेको उक्त द्वन्द्वमा अमेरिकी सेनाले पनि इरानी सम्वर्धन केन्द्रमा आक्रमणमा साथ दिएको थियो ।

उता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै चेतावनी दिँदै भनेका छन्, “यदि, इरानले आफ्ना आणविक सुविधा पुनः सञ्चालन गरे अमेरिका नयाँ सैन्य कारबाहीका निम्ति तयार हुनेछ ।”

सीबीएस न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले अमेरिकाले पुनः आणविक परीक्षण सुरु गर्नुपर्ने आवश्यकता औँल्याउँदै भने, “रुसले परीक्षण गर्ने घोषणा गरिसकेको छ, उत्तर कोरिया निरन्तर परीक्षण गर्दै छ, अरू देशहरूले पनि गर्दै छन् । परीक्षण नगर्ने देश अहिले केवल अमेरिका मात्रै हो र म यस्तो स्थिति चाहन्नँ ।”

रुसले हालै पोसाइडन अन्डरवाटर ड्रोनसहित उन्नत आणविक क्षमतायुक्त प्रणालीको परीक्षण गरेपछिको प्रश्नमा ट्रम्पले यस्तो टिप्पणी गरेका थिए । “अमेरिकासँग विश्वका सबै देशभन्दा बढी आणविक हतियार छन् । हामीसँग विश्वलाई १५० पटकसम्म नष्ट गर्न सक्ने क्षमता छ । रुससँग पनि पर्याप्त हतियार छन् र चीनसँग चाँडै धेरै हुनेछ,” ट्रम्पले भनेका थिए, “रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङसँग मैले आणविक निःशस्त्रीकरणका विषयमा छलफल गरेको छु ।”

इरान र रुसबीचको यो नयाँ आणविक सहकार्यले मध्यपूर्वमा ऊर्जा स्वतन्त्रताको नयाँ अध्याय सुरु गर्ने अपेक्षा गरिएको छ । तर, यसले पश्चिमा शक्तिबीच नयाँ राजनीतिक तरंग उत्पन्न गर्ने सम्भावना विश्लेषकले औँल्याएका छन् । रासस/एएनआई

प्रकाशित मिति: सोमबार, कात्तिक १७, २०८२  १५:२९
प्रतिक्रिया दिनुहोस्