काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल कतारमा यही कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका निम्ति दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन सोमबार (कात्तिक १७) दोहा पुगेका छन् ।
राष्ट्रपति पौडेल कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उक्त सम्मेलनमा सहभागी हुन प्रथम महिला सविता पौडेलसहित दोहा पुगेका उनको सचिवालयले जनाएको छ ।
राष्ट्रपति पौडेललाई दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारका विदेश मन्त्रालय, त्यहाँस्थित नेपाली राजदूत रमेशचन्द्र पौडेललगायत दूतावासका उच्चपदस्थ पदाधिकारी तथा संयुक्त राष्ट्रसंघका निम्ति नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले स्वागत गरे ।
राष्ट्रपति पौडेलले राष्ट्रसंघ महासभाको निर्णयानुसार दोहामा हुन लागेको उक्त विश्व शिखर सम्मेलनको मुख्य सत्रमा कात्तिक १८ गते सम्बोधन गर्ने कार्यक्रम छ । साथै, उनले सम्मेलनका अवसरमा कतारका अमिर थानी र राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलगायत व्यक्तित्वसँग भेटवार्ता गर्नेछन् ।
उक्त सम्मेलन यसअघि सन् १९९५ मा डेनमार्कको कोपनहेगनमा भएको थियो । सम्मेलनमा वर्तमान विश्वले सामना गर्नुपरेको विकासको असमानता, जनसंख्यामा आएको असन्तुलन र प्रविधिका कारण समाजमा परेको प्रभावलगायत विषयमा छलफल गरिने जनाइएको छ ।
भ्रमण पूरा गरी राष्ट्रपति पौडेल कात्तिक २० गते स्वदेश फर्कनेछन् । रासस