काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार प्रतिगमनतिर उन्मुख भएको आरोप लगाएको छ । सोमबार (कात्तिक १६) काठमाडौंमा प्रेस चौतारी नेपालले आयोजना गरेको कार्यक्रममा उनले यस्तो आरोप लगाएका हुन् ।
उनले हालसम्म नेपालमा गठित सबै अन्तरिम सरकार सफल भएको टिप्पणी गरे । वर्तमान सरकार भने सफल हुने बाटोतिर नलागेको उनले बताए ।
जनताको सार्वभौमसत्तामा आधारित संविधानलाई कुल्चिएर बनेको सरकारले जननिर्वाचित संस्थालाई विघटन गरेर अलोकतान्त्रिक कार्य गरेको उनको भनाइ थियो ।
प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको उनले उल्लेख गरे । उनले विगतको नजिरका आधारमा पनि सर्वोच्चले संसद् पुनर्स्थापना गर्ने बताए ।
उनले सरकारलाई संवैधानिक परीक्षणबाट उत्रिएपछि मात्र अरू कार्यभार पूरा गर्न आग्रह गरे । संवैधानिक परीक्षणमा वर्तमान सरकार खरो साबित हुन सम्भव नरहेको उनले जिकिर गरे ।
शंकर पोखरेलको भनाइ पढ्नोस्–
नेपालमा जति पनि अन्तरिम सरकार गठन भएका छन्, प्रायः सबै सफल भएका छन् । अहिलेको सरकार सफल हुनेतिर अगाडि बढेको हामीले अनुभूति गर्न सकेका छैनौँ । किनकि, उसले रिकस्लिलेसनको सिद्धान्तअन्तर्गत आफूलाई प्रस्तुत गरेकै छैन । त्यसमाथि यस्तो आन्दोलन जुन आन्दोलनको चरित्र आन्दोलन कम अपराध ज्यादा देखिन्छ । एक प्रकारले हाम्रो पार्टीले भनेको छ– यो २३ र २४ गतेको घटनापछि मुलुक अग्रगमनमा होइन पश्चगमनतिर, एक प्रकारले प्रतिगमनतिर उन्मुख छ । जनताले लामो संर्घषबाट प्राप्त गरेको सार्वभौमसत्ता आधारित संविधान घाइते भएको छ । जनताबाट निर्वाचित जनप्रतिनिधि अंग प्रतिनिधिसभा विघटन भएको छ, यो दुवै काम हाम्रो पार्टीको विश्लेषणमा भन्नुहुन्छ भने असंवैधानिक छ । यस्तो अवस्थामा मुलुकलाई लोकतन्त्रतर्फ, संविधानतर्फ, जनसर्वाभौमसत्तातर्फ फर्काउनुपर्ने आवश्यकता छ । त्यसका लागि स्वाभाविक रूपमा अहिले सर्वोच्च अदालतमा सरकार र प्रतिनिधिसभा विघटनका विपक्षमा मुद्दाहरू परेका छन् । त्यहाँ छलफलको प्रक्रिया जारी छ । हामी के ठान्दछौँ भने सर्वोच्च अदालतका विगतका नजिरका आधारमा कतिसम्म भन्दाखेरि जनताबाट निर्वाचित बहुमत प्राप्त सरकारले विघटन गर्दाखेरि पनि विघटन गर्न पाइँदैन भन्ने सर्वोच्च अदालतले जनताले चिन्दै नचिनेको, प्रतिनिधिसभाले नचिनेको, संविधानले नचिनेको सरकारले गरेको विघटनलाई सदर गर्ला भन्ने हामी ठान्दैनौँ । यो सरकार सबभन्दा पहिले त संवैधानिक परीक्षणबाट उत्रेपछि मात्रै अन्य कार्यभारहरू पूरा गर्न सक्दछ । संवैधानिक परीक्षणमा यो सरकार खरो साबित हुन सम्भव छैन । न्युज एजेन्सी नेपाल