काठमाडौं । भारतका छिमेकी पाकिस्तान र चीन परमाणु हतियारहरूको भण्डार जम्मा गर्नमा लागेका छन् ? यदि यसो हो भने, भारतले दुई मोर्चामा एकसाथ यिनीहरूसँग कसरी सामना गर्ने ? अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एक चकित पार्ने खुलासापछि यी प्रश्नहरू खडा भएका छन् ।
ट्रम्पले पाकिस्तानले गोप्य रूपमा परमाणु हतियारहरूको परीक्षण गरिरहेको दाबी गरेका छन् । उनले चीन, रुस र उत्तर कोरियाले पनि गोप्य रूपमा परमाणु परीक्षण गरिरहेको र सोही कारण अमेरिकाले पनि परमाणु परीक्षण गर्ने दाबी गरे ।
सीबीएस न्यूजको लोकप्रिय कार्यक्रम ‘६० मिनट्स’मा दिएको अन्तर्वार्तामा ट्रम्पले अमेरिकाले तीन दशकभन्दा बढी समयदेखि परमाणु परीक्षण नगरेको बताए । तर, पाकिस्तानसमेत धेरै देशहरूले विश्वव्यापी जाँचबाट लुकेर भूमिगत परमाणु परीक्षण गरिरहेका छन् ।
ट्रम्पले भने, “हामी परीक्षण गर्नेछौँ किनभने तिनीहरू परीक्षण गरिरहेका छन् । उत्तर कोरिया र पाकिस्तानले पनि परीक्षण गरिरहेको छ । तिनीहरूले तपाईंलाई यसबारे बताउँदैनन् । तिनीहरू भूमिगत परीक्षण गर्छन्, जहाँ मानिसहरूलाई के भइरहेको छ भन्ने थाहा नै हुँदैन । तपाईंले केवल एक हल्का कम्पन महसुस गर्नुहुन्छ ।”
कुनै पनि बहालवाला अमेरिकी राष्ट्रपतिले पाकिस्तानमाथि परमाणु परीक्षण जारी राखेको सिधा आरोप लगाएको यो पहिलो टिप्पणी हो । यो भनाइ ट्रम्पले अमेरिकी सेनालाई ३३ वर्ष पुरानो प्रतिबन्ध तोडेर परमाणु परीक्षण फेरि सुरु गर्ने निर्देशन दिएको आफ्नो आदेशलाई जायज ठहराउनका लागि दिएका हुन् ।
भारतलाई दुई मोर्चामा चिन्ता !
भारतको सन्दर्भमा यो दाबी चिन्ताजनक छ, किनभने भारतलाई पाकिस्तान र चीनबाट दुई मोर्चामा खतरा छ । यो विशेषगरी भारतको पाकिस्तान र चीनसँग तनावपूर्ण सम्बन्ध रहेको तथा कुनै पनि द्वन्द्वको स्थितिमा दुवै एकसाथ देखिएका कारण भएको बताइएको छ । हालैको ‘अपरेशन सिन्दूर’ को समयमा भएको भारत–पाकिस्तान द्वन्द्वको दौरान चीनले पाकिस्तानलाई पूर्ण सैन्य सहयोग उपलब्ध गराएको थियो । यद्यपि, केही दिनमै युद्धविराम भयो र स्थिति धेरै खराब भएन ।
ट्रम्पले अन्तर्वार्ताको क्रममा भारत र पाकिस्तानबीच मे २०२५ मा भएको तनावबारे उल्लेख गरे । दुई देशहरू परमाणु युद्धको संघारमा रहेका तथा व्यापार र ट्यारिफको माध्यमबाट हस्तक्षेप गरेर यसलाई रोकेको बताए ।
ट्रम्पले भने, “भारत पाकिस्तानसँग परमाणु युद्ध गर्न लागेको थियो । पाकिस्तानका प्रधानमन्त्री उभिए । यदि डोनाल्ड ट्रम्पले हस्तक्षेप नगरेको भए लाखौँ मानिसहरू मरिसकेका हुन्थे । यो एक खराब युद्ध थियो । लडाकु विमानहरू यताउता खसिरहेका थिए । मैले दुवैलाई भने, यदि तपाईंहरू रोकिनुहुन्न भने अमेरिकासँग कुनै व्यापार गर्न पाउनुहुने छैन ।”
यो दाबी विवादास्पद छ, किनभने भारतको ‘अपरेशन सिन्दूर’ सैन्य अभियानको दौरान परमाणु युद्धको संघारमा पुगेको कुनै आधिकारिक पुष्टि भएको छैन । भारतले युद्धविराम गराउने ट्रंपका दाबीहरूलाई बारम्बार खारेज गरेको छ ।
गोप्य परीक्षणहरूको सत्यता के हो ?
विश्वव्यापीस्तरमा परमाणु परीक्षणहरूको निगरानी बृहत् परमाणु परीक्षण प्रतिबन्ध सन्धिअन्तर्गत गरिन्छ । जसले भूकम्पीय तरंगहरूमार्फत भूमिगत विस्फोटहरूको पत्ता लगाउँछ । यद्यपि, ट्रम्पको यी परीक्षणहरू यति गोप्य हुन्छन् कि तिनीहरूलाई समात्न गाह्रो हुन्छ भन्ने दाबी गरेका थिए ।
पाकिस्तानको मामिलामा, ट्रम्पको आरोप पहिलोपटक बहालवाला अमेरिकी राष्ट्रपतिबाट लगाइएको सिधा आरोप हो । पाकिस्तानले आधिकारिक रूपमा सन् १९९८ को चगाई परीक्षणपछि कुनै परीक्षण गरेको छैन, तर अमेरिकी गुप्तचर रिपोर्टहरूमा उसको परमाणु कार्यक्रमको वृद्धिबारे उल्लेख छ ।
भारतका लागि खतरा ?
ट्रम्पका दाबीहरू भारतका लागि विशेष रूपमा चिन्ताजनक रहेको छ किनभने भारतले ‘पहिले प्रयोग नगर्ने’ नीति पालना गर्दछ र सन् १९९८ को पोखरण–२ परीक्षणपछि कुनै परीक्षण गरेको छैन । स्टकहोम इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युटको २०२५ को रिपोर्टअनुसार, भारतसँग हाल १८० परमाणु हतियार छन् ।
अर्कोतर्फ, पाकिस्तानसँग पनि करिब १७० परमाणु हतियार छन्, जुन २०२८ सम्म २०० पुग्न सक्छ, जसमा ट्याक्टिकल न्युक्स (क्षेत्रीय हतियार) समावेश छन् । चीनको हतियार भण्डार ६०० हतियारहरूको छ, जुन २०३० सम्म १००० पुग्ने अनुमान गरिएको छ । पेन्टागनको २०२४ को रिपोर्टमा भनिएको छ कि चीनले २०३० सम्म १००० भन्दा बढी सञ्चालनयोग्य हतियारहरू तैनाथ गर्न सक्छ ।
ट्रम्पको परमाणु परीक्षण फेरि सुरु गर्ने निर्णय र पाकिस्तान चीनमाथि लागेका आरोपहरूले भारतमा ‘पोखरण–तीन’को बहसलाई बढाइदिएको छ । जानकारहरू यदि छिमेकीहरूले गोप्य परीक्षण गरिरहेका छन् भने, भारतले आफ्नो क्षमताहरूको जाँच गर्नुपर्ने बताउँछन् । यद्यपि, भारतले बृहत् परमाणु परीक्षण प्रतिबन्ध सन्धिमा हस्ताक्षर गरेको छैन, तर परीक्षणले अमेरिकासँगको २००५ को परमाणु सम्झौतालाई असर गर्न सक्छ, जुन कम सम्बद्र्धित युरेनियमको आपूर्तिमा निर्भर गर्दछ ।
दक्षिण एसियामा परमाणुको दौड ?
ट्रम्पको बयानले दक्षिण एसियामा परमाणु दौडलाई तीव्र बनाउन सक्छ । स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युटको रिपोर्टअनुसार, भारतको क्यानिस्टराइज्ड मिसाइलहरूले धेरै हतियार बोक्न सक्छन् । पाकिस्तानले अब्दाली र शाहिन–तीन जस्ता मिसाइलहरूको परीक्षण गरेको छ, जबकि चीन एफओबीएस जस्ता प्रविधिहरूसँग अगाडि बढिरहेको छ ।
ट्रम्पका दाबीहरू सत्यमा आधारित छन् वा राजनीतिक बयानबाजी हो भन्ने विषय वैज्ञानिक समुदायमा बहसको विषय बनेको छ । भारतका लागि यो एक सचेत हुने संकेत हो । दक्षिण एसियाको शान्ति अब अझ नाजुक देखिएको छ ।
एजेन्सीको सहयोगमा