site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, महाधिवेशनको कार्यतालिका प्रस्ताव हुने
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आजबाट पुनः सुरु हुने भएको छ । सोमबार बसेको कार्यसम्पादन समितिको बैठकले आजबाट केन्द्रीय समितिको बैठक पुनः सुरु गर्ने निर्णय गरेको हो । 

बैठकमा संस्थापन र इतर दुवै पक्षले धारणाका रूपमा महाधिवेशनको कार्यतालिका प्रस्ताव गर्ने नेताहरूले बताएका छन् । सोमबार बसेको कार्यसम्पादनको बैठकमा यस्तो सहमति भएको थियो । 

महाधिवेशनका विषयमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुस मसान्त र संस्थापन पक्षका तर्फबाट सहमहामन्त्री महेन्द्र यादवले वैशाखमा महाधिवेशन गर्ने अडान कायम राखेका छन् । 

महामन्त्रीद्वयको प्रस्ताव पुसमा, संस्थापन पक्षको वैशाखमा महाधिवेशन प्रस्ताव  !

कांग्रेस सोतका अनुसार महामन्त्री थापाले बैठकमा धारणाका रूपमा पुस मसान्तका लागि महाधिवेशन प्रस्ताव गर्नेछन् । संस्थापन पक्षले पनि धारणाकै रुपमा वैशाखमा महाधिवेशन प्रस्ताव गर्नेछ । त्यसमा दुवै पक्षले कार्यतालिका र औचित्यमा पनि धारणा राखेपछि छलफल अघि बढाउने तयारी भएको छ । 

महामन्त्री थापाले पुस मसान्तमा र सहममन्त्री यादवले वैशाख २५ देखि २८ सम्म महाधिवेशन गर्ने प्रस्ताव पेस गर्नेछन् । सहमति नभएपछि पार्टीको प्रस्ताव नभई व्यक्तिगत रुपमा प्रस्ताव पेस गरी छलफलका आधारमा एकीकृत प्रस्ताव बनाउने समझदारी गरेका छन् । 

दिनभरको समूहगत छलफलपछि सोमबार साँझ कार्यवाहक सभापति उपसभापति तथा महामन्त्री र सात भाइका तर्फबाट चारजनाले वार्ता गरेपछि समझदारी निकालिएको हो । 

आगामी निर्वाचनमा भाग लिने विषयमा कांग्रेसमा विवाद नभए पनि महामन्त्रीहरूले एकसाथ निर्णय गर्ने अडान राखेपछि आज पनि निर्वाचनमा जाने निर्णय कांग्रेसले नगर्ने तय भएको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १८, २०८२  ०६:३१
प्रतिक्रिया दिनुहोस्