काठमाडौं । सरकारले आगामी फागुन २१ गतेका लागि निर्वाचनको मिति तोकेको छ । कतिपयले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले पनि आगामी निर्वाचनमा भाग लिन सक्ने आकलन गरिरहेका छन् ।
तर, बालेन स्वयं राजनीतिक दल नै नखोल्ने मनस्थितिमा छन् । उनी मेयरकै कार्यकाललाई पूरा गर्ने मुडमा रहेको उनी निटकस्थ स्रोत बताउँछ ।
गत भदौ २४ गतेको जेनजी प्रदर्शनका क्रममा देश सरकारविहीन अवस्थामा पुगेको थियो । त्यतिबेला धेरैले बालेनले सरकारको नेतृत्व गर्नुपर्ने मत राखेका थिए । तर, पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम प्रस्ताव गरिएको स्रोतको दाबी छ ।
बालेन निकट एक सदस्यका अनुसार, बालेनले दल खोल्ने कुनै योजना बनाएका छैनन् । “बालेनमाथि पार्टी खोल्ने चौतर्फी दबाब बढेको थियो । तर, उहाँले पार्टी खोल्नुहुन्न । पार्टी खोल्नका लागि कुनै पनि स्तरको कसरत छलफल भएको छैन । त्यसैले उहाँले पार्टी नखोल्ने सम्भावना बढी नै छ, ” ती सदस्यले भने ।
ती सदस्यले महानगरको मेयरकै कार्यकाल पूरा गर्ने बालेनको योजना छ ।
“उहाँले मेयरकै कार्यकाल पूरा गर्नुहुन्छ । सरकारी विद्यालयको स्तर उकास्ने, स्वास्थ्य संस्थाहरूको सेवा प्रभावकारी बनाउने लगायतका कामहरू लागिपरिरहनुभएको छ । नेता बनिसकेपछि कुनै पनि बेलामा जे पनि हुनसक्छ भन्ने हुन्छ । तर, विदेशमा एकपटक नेतृत्व गरिसकेपछि आआफ्नो काममा लाग्छन् । बालेन कार्यकाल पूरा गरेर पुरानै काममा व्यस्त हुने सम्भावना बढी छ, ” उनले भने ।
आफ्नो कार्यकाल पूरा गरेर स्वतन्त्ररूपमा बस्ने बालेनको चाहना रहेको ती सदस्यको भनाइ छ ।
०७९ को स्थानीय तह निर्वाचनमा स्थापित दलहरूलाई हराउँदै स्वतन्त्ररूपमा चुनाव लडेका बालेन ६१ हजार ७६७ मत पाएर काठमाडौं महानगरको बागडोर सम्हालेका थिए ।
संघीय राजधानी काठमाडौंका मेयर भएकाले पनि बालेन यतिबेला महानगरकै काममा व्यस्त छन् ।
ठूला राजनीतिक दलहरू फुटको संघारमा पुगेका बेलामा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पार्टी खोलिसकेका छन् । जेनजी आन्दोलनमा सहभागी अभियन्ता पनि तयारी अवस्थामा छन् ।
यता सहरी विकास तथा ऊर्जामन्त्री कुलमान घिसिङले पनि पार्टी खोल्ने चर्चा भइरहेको छ । उनको पार्टीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेकी सुमना श्रेष्ठ पनि जोडिने बताइएको छ । घिसिङको पार्टीलाई बालेनले पनि समर्थन गर्ने चर्चा छ ।
तर बालेनका निकट रहेका टिमकै एक सदस्यका अनुसार अहिले कुनै पनि दल तथा नेतालाइ सहयोग गर्ने भन्ने निर्णय भइसकेको छैन, आ–आफ्ना तरिकाले व्याख्या गरिरहेका छन् ।
बालेनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले आफूलाई असहयोग गर्दै आएको बताउँदै आएका थिए । यसबीच महानगरको प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको विषयमा विवाद उत्पन्न भएको थियो ।
एमालेबाट निर्वाचित उपमेयर सुनिता डंगोलसँग पनि पछिल्लो समय बालेनको ‘ट्युनिङ’ मिलेको थिएन । तर, अहिले संघमा राजनीतिक दल नेतृत्वको सरकार छैन ।
बालेनले शनिबार राति सामाजिक सञ्जालमा सबै पार्टी र छिमेकी देश (भारत, चीन र अमेरिका) लाई अश्लील मानिने शब्दसहित स्टाटस पोस्ट गरेका थिए । त्यसपछि उनको चौतर्फी आलोचना भइरहेको छ ।
ती सदस्य भन्छन्, “बालेनले जति राम्रो काम गरे पनि जनताको अपेक्षा धेरै छ । बालेनले ५ काम गरे भने जनताको अपेक्षा ५० हुन्छ । त्यसैले समाजमा हुने विरोध र आलोचनाले उहाँलाई केही फरक पर्दैन । नेता भइसकेपछि कहिले आलोचना त कहिले प्रशंसा हुन्छ नै ।”
