site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
०६३ देखि लगातार ‘खाने’हरू समानुपातिकमा नआउने व्यवस्था गरौँ : पुन

काठमाडौं । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले ‘जेनजी’ आन्दोलनको एक/दुई हप्तामै पार्टीको आधिकारिक धारणा दिन सक्नुपर्नेमा विवाद गरेर बस्नु गम्भीर गल्ती भएको टिप्पणी गरेका छन् । मंगलबार (कात्तिक १८) काठमाडौंको थापागाउँमा कांग्रेसको विशेष महाधिवेशनबारे आयोजित भेलामा उनले यस्तो बताएका हुन् ।

“जेनजी आन्दोलनको एक/दुई हप्तामै आधिकारिक धारणा दिन सक्नुपर्थ्यो,” पुनले भने, “आज पनि कांग्रेसमा विवाद गरेर बस्ने अवस्था बनेको छ । यो नेताहरूको गम्भीर गल्ती हो ।”

३५ वर्षदेखि एउटै व्यक्तिले शासन गरिरहेको भन्दै उनले आमप्रतिनिधित्वका निम्ति विशेष महाधिवेशन आवश्यक रहेकामा जोड दिए । लगातार अवसर पाइरहेकालाई विशेष महाधिवेशनबाट समानुपातिकको ढोका बन्द गर्नुपर्ने उनले बताए ।

“नीतिगत रूपमै सुधार गरेर विभिन्न वर्ग, क्षेत्रको प्रतिनिधित्व चाहिन्छ । ०६३ देखि लगातार खानेहरू अवरोध बन्दै छन्,” उनले भने, “विशेष महाधिवेशनबाट उनीहरूलाई समानुपातिकमा नआउने व्यवस्था गर्नुपर्‍यो ।”

जेनजी आन्दोलनपछि विकसित परिस्थितिमा कांग्रेसभित्र महधिवेशनको विवाद तीव्र बनेको छ । विशेष महाधिवेशनका पक्षमा हस्ताक्षर संकलन गरिएको छ । तर, विशेष कि नियमित महाधिवेशन गर्ने भन्ने निर्णय लिन बाँकी छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १८, २०८२  १४:४१
प्रतिक्रिया दिनुहोस्