site stats
बाह्रखरी :: Baahrakhari
विदेश
युक्रेनमा शीतकालीन युद्धको निम्ति रुसको नयाँ रणनीति

काठमाडौं । जाडोको सुरुआतसँगै युक्रेनमा ‘चिन्ता’ निकै बढेको छ । गत महिना, फ्रान्स र संयुक्त अधिराज्यको नेतृत्वमा रहेको युक्रेनका सहयोगी देशहरूको समूह ‘इच्छुक देशहरूको गठबन्धन’ले ठूला सहरी क्षेत्रमा बिजुली र सेन्ट्रल हिटिङ आपूर्ति कायम राख्नका लागि किभलाई सहयोग गर्न पर्याप्त स्रोत संकलन गर्ने सहमति जनाएको थियो । यसको असर केही हदसम्म देखिएको छ, किनभने २८ अक्टोबरमा सुरु हुनुपर्ने हिटिङ मौसम सामान्यभन्दा केही ढिला सुरु भएको थियो ।

तर, यसले युक्रेनका घरहरूमा आगामी महिनाहरू न्यानो हुने कुरामा धेरै आश्वासन दिन सक्दैन । रूसी सेनाले देशको महत्त्वपूर्ण पूर्वाधारमाथि आक्रमण जारी राखेको छ, जसको उद्देश्य जाडो सुरु हुनासाथ बिजुली आपूर्ति प्रणाली र ग्यास आपूर्तिलाई क्षतविक्षत बनाउनु हो ।

नेपोलियन र हिटलरविरुद्ध रुसको सहयोगी सावित भइसकेको ‘जनरल विन्टर’ (जाडो) यस युद्धमा पनि सेवा दिइरहेको छ । केवल युक्रेनविरुद्ध मात्र नभएर युरोपविरुद्ध पनि ।

युद्ध क्षेत्रमा जित्ने वा अल्टिमेटममार्फत किभलाई बाध्य पार्ने प्रयास विफल भएपछि, राष्ट्रपति भ्लादिमिर पुटिनले युद्धलाई युक्रेनको ऊर्जा र लजिस्टिक्स प्रणालीतर्फ सारेका छन् । प्रथम दृष्टिमा, यो विगतका जाडो मौसमहरूको पुनरावृत्तिलाई सम्झाउने एक प्रकार भए पनि रणनीतिमा परिवर्तन आएको देखिन्छ ।

सन् २०२२ र २०२३ मा, रुसले युक्रेनेलीहरूलाई जाडोले थलाइदिने र आत्मसमर्पणमा धकेल्ने आशयले प्रयास गरेको थियो । त्यो प्रयास असफल रह्यो । राष्ट्रको मनोबल कायम रह्यो र बत्ती बलिरहे । अहिले पुटिनको चाहना फरक छ । यसपटकको लक्ष्य केवल युक्रेनलाई सजाय दिनु मात्र नभएर जाडो र अँध्यारोमार्फत युरोपलाई पनि अस्थिर बनाउनु हो ।

सन् २०२२ को फेब्रुअरीतिर रुसको पूर्ण मात्राको आक्रमण सुरु भएदेखि, दोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठूलो शरणार्थी लहरको रूपमा लाखौँ युक्रेनेलीहरू रेल, कार र पैदल हुँदै पूर्वतर्फ भागेका थिए । यदि ऊर्जा प्रणाली ढल्यो भने, त्यो लहर विनाशकारी रूपले फर्कन सक्ने बताइएको छ । क्रेमलिनको सबैभन्दा निर्मम योजना यही हो, जाडोलाई नै हतियार बनाउने ।

पश्चिममा युक्रेनप्रति देखाइएको एकताबीच पनि अर्को शरणार्थी लहर अत्यन्त ठूलो अस्थिरता निम्त्याउन सक्छ । सहायता बजेट सीमित भएको अवस्थामा, युरोपले आर्थिक भार मात्र होइन, नैतिक परीक्षणको सामना पनि गर्नुपर्नेछ । जाडोबाट भाग्न चाहने विवश नागरिकहरूप्रति सीमा बन्द गर्ने कि घरभित्र बढ्दो सार्वजनिक असन्तोषलाई सम्बोधन गर्ने भन्ने जस्ता कठिन निर्णयहरू यसले लिन बाध्य पार्ने बताइएको छ ।

आज लगभग ५० लाख युक्रेनेली शरणार्थी युरोपमा रहेका छन् । जर्मनीमा करिब १२ लाख र पोल्यान्डमा ९० हजारभन्दा बढी रहेका छन् । दुवै देशले युक्रेनेली शरणार्थीहरूलाई स्वागतयोग्य व्यवहार देखाएका छन्, तर युद्ध थाकेको छ र सार्वजनिक मनोवृत्तिमा परिवर्तन आइरहेको छ ।

किभले प्रारम्भमा अध्यागमनका नियम स्थगन गरेपछि करिब एक लाख युक्रेनेली पुरुषहरू पोल्यान्डतर्फ प्रवेश गरेका थिए । तीमध्ये धेरै जर्मनीतर्फ गएका थिए । यसले सार्वजनिक असन्तोष निम्त्यायो । अक्टोबरमा गरिएका एक जनमत सर्वेक्षणले ६२ प्रतिशत जर्मनहरूले सेनामा जान योग्य उमेरका युक्रेनेली पुरुषहरूलाई फिर्ता पठाउनुपर्ने भएको देखाएको थियो । साथै, ६६ प्रतिशतले युक्रेनेलीहरूले लाभ प्राप्त गर्नु बन्द हुनुपर्ने विचार राखेका देखाए । 

युक्रेनेली शरणार्थीहरूको लागि सामाजिक सहयोग कायम राख्न बर्लिनले गत वर्ष करिब ६ बिलियन युरो खर्च गर्‍यो, र नयाँ रूढीवादी जर्मन सरकारले बजट कडा बनाउने संकेत दिएको छ ।

पोल्यान्डमा पनि युवा युक्रेनी पुरुषहरूको ठूलो प्रवेशबारे सार्वजनिक रोष देखियो । गत वर्षको अन्त्यमा गरिएको सर्वेक्षणले २५ प्रतिशत पोलिसहरूले युक्रेनी शरणार्थीहरूलाई सकारात्मक, ३० प्रतिशतले नकारात्मक र ४१ प्रतिशतले तटस्थ रूपमा हेरेको देखायो । करिब ५० प्रतिशतले उनीहरूको लागि सरकारी सहयोग धेरै बढी भएको विश्वास व्यक्त गरेका थिए । एक वर्षपछि यो नकारात्मक प्रवृत्ति कायम रहेको हुनसक्छ ।

युक्रेनेली शरणार्थीको संख्या कम भएका अन्य देशहरूमा पनि नकारात्मक मनोवृत्ति बढ्दै गइरहेको छ । करिब ३८० हजार युक्रेनेलीहरू बसोबास गरेको चेक गणराज्यमा ६० प्रतिशत नागरिकहरूले अहिले देशले व्यवस्थापन गर्न सक्नेभन्दा बढी शरणार्थीहरू स्वीकार गरेको विश्वास गर्छन् ।

जुन महिनामा युरोपेली आयोगले युक्रेनेलीहरूको लागि अस्थायी संरक्षण समय अवधिलाई मार्च २०२७ सम्म बढाएको थियो, तर अर्को शरणार्थी लहरको चिन्ता सम्पूर्ण ब्लकमा स्पष्ट छ । विगत दुई वर्षमा, ईयू देशहरूले शरणार्थी नीतिमा समग्र रूपमा कडाइ ल्याएका छन् । 

जर्मनीले आफ्ना पडोसी शेन्गेन देशहरूसँगको सीमा नियन्त्रण पुनः सुरु गरेको छ र यसलाई सन् २०२६ सम्म बढाएको छ । पोल्यान्डले बेलारुससँगको सीमामा शरण आवेदन स्वीकार गर्न रोक लगाएको छ ।

पुटिन र उनका सहयोगी, बेलारुसी राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्को, विवश मानिसहरूलाई ईयूको सीमातर्फ धकेल्ने रणनीतिले काम गर्छ भन्ने कुरा बुझ्छन् । उनीहरूले सन् २०२१ मा यस्तै हाइब्रिड युद्धको प्रयोग गरेका थिए, जब बेलारुसले मध्यपूर्व र एसियाबाट आएका शरणार्थीहरूलाई पोलिश सीमातर्फ मोडेको थियो ।

त्यसबेला ती सीमाहरूमा हजारौँ मानिसहरू थिए, जसले मानवीय संकट र मृत्यु निम्त्यायो । यदि युक्रेनको ऊर्जा क्षेत्र यो जाडोमा ढल्यो भने, सयौँ हजारभन्दा बढी मानिसहरू पश्चिमतर्फ पोल्यान्ड वा दक्षिणतर्फ रोमानिया र हंगरीतर्फ जानुपर्ने स्थिति सिर्जना हुन सक्छ । सीमामा उत्तेजकहरूको घुसपैठ वा ड्रोन गतिविधिबाट यो स्थिति सजिलै बिग्रन सक्छ ।

के युरोप तयार हुनेछ ?
गत महिना, पोल्यान्डका विदेशमन्त्री राडोस्लाव सिकोस्र्कीले आफ्नो देशले युक्रेनलाई जेनरेटर र थप बिजुली आपूर्तिमा सहयोग गर्ने बताएका थिए । तर, जेनरेटरले चिसो जाडोमा आफ्ना घरमै रहेका ३० लाखभन्दा बढी युक्रेनेलीहरूलाई कसरी न्यानो राख्न सक्छ भन्ने प्रश्न उठेको छ ?

पुटिनलाई यसको उत्तर थाहा छ । त्यसैले रूसी सेनाले पूर्वाधार नष्ट गर्ने मात्र नभएर नागरिकहरूलाई पश्चिमतर्फ धकेल्ने लक्ष्यसहित विद्युत् गृह, ग्यास भण्डारण र रेल जंक्सनमाथि बम प्रहार गराइरहेको छ । आतंक नै हतियार बनिसकेको छ । यो जाडो युक्रेनले आफ्ना इच्छुक सहयोगीहरूको एकताको सीमा परीक्षण गर्ने सम्भावना छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १८, २०८२  २३:२३
प्रतिक्रिया दिनुहोस्