site stats
बाह्रखरी :: Baahrakhari
विदेश
भारतमा बढ्यो धनी र गरिबबीचको खाडल, एक प्रतिशतको सम्पत्तिमा ६२ प्रतिशत वृद्धि

काठमाडौं । भारतमा धनी र गरिबबीचको सम्पत्तिको खाडल पछिल्लो दुई दशकमा तीव्र रूपमा बढेको छ । विश्वका २० सबैभन्दा ठूला अर्थतन्त्रहरूको एउटा मञ्च जी२० टास्क फोर्सको नयाँ प्रतिवेदन सार्वजनिक गर्दै यो तथ्य बाहिर ल्याएको हो । 

सन् २००० देखि २०२३ को बीचमा देशका शीर्ष एक प्रतिशत मानिसको सम्पत्तिमा ६२ प्रतिशतको वृद्धि देखिएको छ ।

प्रतिवेदनमा विश्वव्यापी रूपमा सबैभन्दा धनी एक प्रतिशत मानिसहरूले सन् २००० पछि सिर्जना भएको नयाँ सम्पत्तिको ४१ प्रतिशत हिस्सा आफ्नो कब्जामा लिएको उल्लेख छ । 

यसैबीच, विश्वको ५० प्रतिशत जनसंख्याको सम्पत्तिमा जम्मा एक प्रतिशतको मात्र वृद्धि भएको उल्लेख छ । 

यो प्रतिवेदन ‘वर्ल्ड इनइक्वालिटी ल्याब’को तथ्यांकमा आधारित रहेको बताइएको छ । यसलाई असमानताका कारणहरू तथा त्यसका प्रभावहरूमाथि ध्यान केन्द्रित गर्नका लागि तयार पारिएको हो ।

प्रतिवेदनका प्रमुख तथा नोबेल पुरस्कार विजेता अर्थशास्त्री जोसेफ स्टिग्लिट्जले अत्यधिक असमानता भएका देशहरूमा प्रजातन्त्र कमजोर पर्न सक्ने चेतावनी दिएका छन् ।

“यो केवल अन्याय मात्र होइन । हाम्रो अर्थतन्त्र र राजनीतिको लागि पनि खतरा हो,” उनले भनेका छन् । 

यो समिति दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाको नेतृत्वमा गठन गरिएको थियो, जसले नोभेम्बर २०२५ सम्म जी२० को अध्यक्षता गरिरहेका छन् । द इकोनोमिक टाइम्स

प्रकाशित मिति: बुधबार, कात्तिक १९, २०८२  ०८:१०
प्रतिक्रिया दिनुहोस्