site stats
बाह्रखरी :: Baahrakhari
विदेश
जोहरान न्युयोर्कको मेयरमा निर्वाचित, पहिलो मुस्लिम र दक्षिण एसियाली मेयर

काठमाडौं । ३४ वर्षीय राज्य विधायक जोहरान क्वामे ममदानी न्युयोर्क सहरको १११औँ मेयरमा निर्वाचित भएका छन् । 

ब्रुकलिनका सम्पन्न गल्लीहरूदेखि क्विन्सका श्रमिक वर्गका आप्रवासी बस्तीहरूसम्म फैलिएको राज्यमा उनको जित  न्युयोर्कको इतिहासमा सबैभन्दा उल्लेखनीय राजनीतिक उथलपुथलहरूमध्ये एक हो । 

डेमोक्रेटिक समाजवादी ममदानीले जुनमा भएको डेमोक्रेटिक प्राइमरी चुनावमा पूर्वगभर्नर एन्ड्रयू एम कुओमोलाई पराजित गरेका थिए । यो जितसँगै न्युयोर्कवासीहरूले पाँच महिनामा दोस्रो पटक राज्यका सबैभन्दा शक्तिशाली व्यक्तित्वमध्ये एकलाई अस्वीकार गरेका छन् ।  

रिपब्लिकन उमेदवार कर्टिस स्लिवा धेरै पछाडि तेस्रो स्थानमा रहे । 

२० लाखभन्दा बढी मतदाताको सहभागिता दर्ता भएको थियो, जुन सन् १९६९ यता सहरको नगरपालिका चुनावमा भएको उच्चतम सहभागिता हो ।

क्वीन्सका राज्य विधायक ममदानी एक वर्षअघि बिना कुनै ठूलो प्रोफाइल प्रतिस्पर्धामा उत्रिएका थिए । तर, किफायती जीवन, सामाजिक सञ्जालमा उनको पकड र न्युयोर्कप्रतिको निरन्तर सकारात्मक अभियानले युवा मतदाता र आप्रवासी समूहहरूमा रेकर्ड तोड्ने सहभागिता उत्प्रेरित गर्‍यो । यसले उनलाई अनुभवी प्रतिद्वन्द्वीहरूलाई पछि पार्दै अगाडि बढ्न मद्दत गर्‍यो ।

अब उनी १९औँ शताब्दीदेखि न्युयोर्क सिटीका सबैभन्दा युवा मेयर, पहिलो मुस्लिम र पहिलो दक्षिण एसियाली मेयर बनेका छन् । 
उनी युगान्डामा भारतीय मूलका अभिभावकबाट जन्मिएका थिए । उनी सन् १९७० को दशकमा अब्राहम बीमपछि मेयरको रूपमा सेवा गर्ने पहिलो व्यक्ति हुन् । 

ममदानीले सहरको लामो समयदेखि चलिआएको राजनीतिक र व्यापारिक प्रतिष्ठानविरुद्ध एक विद्रोहीको रूपमा अभियान चलाएका थिए । 

उनले धनीमाथि कर बढाउने, बस र बाल हेरचाह निःशुल्क गर्ने, भाडा स्थिर अपार्टमेन्टहरूका लागि भाडा फ्रिज गर्ने र आफूले कठोर रूपमा आलोचना गरेको प्रहरी विभागमा सुधार ल्याउने आह्वान गरेका छन् ।

तर उनले जनवरी १ मा पदभार ग्रहण गर्दा गम्भीर चुनौतीहरूको सामना गर्नुपर्नेछ । धेरै यहूदी न्युयोर्कवासी र व्यापारिक नेताहरूले उनीप्रति गहिरो अविश्वास राखेका छन् ।

राष्ट्रपति ट्रम्पको खतरा पनि मडारिरहेको छ, जसले ममदानीको जित हुनुभन्दा अघि नै उनलाई ‘मेरो सानो कम्युनिस्ट मेयर’ भन्दै आफ्नो निशाना बनाएका थिए । चुनावको पूर्वसन्ध्यामा राष्ट्रपतिले आधिकारिक रूपमा पूर्वगभर्नर कुमोलाई समर्थन गरेका थिए ।

ट्रम्पले ममदानीले उनलाई मन नपर्ने नीतिहरू लागु गरेमा न्युयोर्कलाई अर्को निशाना बनाउँदै संघीय कोषहरू कटौती गर्ने र राष्ट्रिय गार्ड तैनाथ गर्ने चेतावनी दिएका छन् । एपी

 

प्रकाशित मिति: बुधबार, कात्तिक १९, २०८२  ०९:२३
प्रतिक्रिया दिनुहोस्