काठमाडौं । अमेरिकामा अक्टोबर १ बाट सुरु भएको ‘सरकारी कामकाज बन्द’ (गभरमेन्ट सटडाउन) आज ३६औँ दिन पुगेको छ । यो अमेरिकाको इतिहासमै सबैभन्दा लामो सटडाउन हो ।
यसअघि, राष्ट्रपति ट्रम्पको पहिलो कार्यकालमा सन् २०१८ मा ३५ दिनसम्म सरकारी कामकाज ठप्प भएको थियो ।
ट्रम्प ‘हेल्थ केयर प्रोग्राम’को अनुदान बढाउन तयार छैनन्, जसका कारण अमेरिकी संसद्को माथिल्लो सदन (सिनेट)मा फन्डिङ विधेयक पारित हुन सकेको छैन ।
यस विधेयकमाथि हालसम्म १३ पटक मतदान भइसकेको छ । तर, हरेक पटक बहुमतका लागि आवश्यक ६० भोटभन्दा पाँच भोट कम परेको छ ।
सटडाउनका कारण अमेरिकी अर्थतन्त्रमा भारी नोक्सान भइरहेको छ । कंग्रेसनल बजेट अफिसका अनुसार, हालसम्म ११ अर्ब डलर बराबरको क्षति भइसकेको छ । यदि सटडाउन चाँडै समाप्त नभए देशको अर्थतन्त्रमा चौथो त्रैमासिकमा १ प्रतिशत देखि २ प्रतिशत सम्मको गिरावट आउन सक्छ ।
वासिङटनस्थित बाइपार्टिसन पोलिसी सेन्टरका अनुसार, हालसम्म ६.७ लाख सरकारी कर्मचारीलाई बिदा (फर्लो) मा पठाइएको छ । जबकि, ७.३ लाख कर्मचारी तलबबिना काम गरिरहेका छन् । यसरी करिब १४ लाख मानिस ऋण लिएर घर चलाउन बाध्य भएका छन् ।
सीबीओका अनुसार, जबरजस्ती बिदामा पठाइएका कर्मचारीहरूको करिब ४०० मिलियन डलर बराबरको दैनिक तलब नोक्सान भइरहेको छ ।
सीबीओका निर्देशक फिलिप स्व्यागलका अनुसार, सटडाउनका कारण सरकारी खर्चमा ढिलाइ भइरहेको छ र यसले अर्थतन्त्रमा नकारात्मक असर पारेको छ । उनले यो असर केही हदसम्म घट्न सक्ने भए पनि पूर्णरूपमा हट्ने सम्भावना नरहेको बताए ।
अमेरिकामा सरकारी कामकाज ठप्प भएकाले हवाई यातायात नराम्ररी प्रभावित भएको छ । देशभरका धेरै एयरपोर्टमा उडानहरू ढिलो भइरहेका छन् वा रद्द गरिएका छन् ।
यातायात विभागका अनुसार, ११ हजार एयर ट्राफिक कन्ट्रोलरहरूले तलब पाएका छैनन्र । यो अवस्था जारी रहे हवाई यातायातमा गम्भीर असर पर्न सक्ने चेतावनी दिइएको छ ।
फेडरल एविएसन एडमिनिस्ट्रेसनका अनुसार, एयर ट्राफिक कन्ट्रोलरहरू भारी तनाव र थकानसँग जुधिरहेका छन् । जसका कारण ठूलो संख्यामा कर्मचारीहरू ड्युटीमा आइरहेका छैनन् ।
फेडरल एविएशन एडमिनिस्ट्रेसनको रिपोर्ट अनुसार, अक्टोबर ३१ देखि नोभेम्बर २ को बीचमा अमेरिकामा १६ हजार ७०० भन्दा बढी उडानहरू ढिलो भए र दुई हजार २८२ उडानहरू रद्द गर्नुपर्यो ।
फेडरल एविएसन एडमिनिस्ट्रेसनले आफ्ना प्रमुख ३० एयरपोर्टहरूमध्ये आधामा स्टाफको भारी कमी रहेको जनाएको छ । न्युयोर्क क्षेत्रका हवाई अड्डामा त ८० प्रतिशत सम्म कर्मचारी अनुपस्थित छन् ।
एयर ट्राफिक कन्ट्रोलरहरू आपत्कालीन सेवा अन्तर्गत पर्ने भएकाले उनीहरू काममा त आइरहेका छन्, तर अक्टोबर १ देखि तलब पाएका छैनन् ।
यातायातमन्त्री सिन डफीले भने, “हामी प्रणालीलाई सुरक्षित राख्नका लागि धेरै मिहिनेत गरिरहेका छौँ । यसमा उडानहरूको ढिलाइ र रद्द हुनु समावेश छ । तर म एयर ट्राफिक कन्ट्रोलरहरूलाई निकाल्ने छैन । किनकि, उनीहरू आफ्नो परिवार पाल्नका लागि दोस्रो नोकरी गरिरहेका छन् ।”
सटडाउनका कारण ४२ मिलियन अमेरिकीहरूको फुड स्ट्याम्प सहायता रोकिएको छ । अमेरिकाको कृषि विभागसँग यो कार्यक्रमका लागि मात्र पाँच अर्ब डलरको रिजर्भ फन्ड छ । जबकि, नोभेम्बरमा फुड स्ट्याम्प जारी राख्न ९.२ अर्ब डलर आवश्यक पर्नेछ ।
न्युयोर्क, क्यालिफोर्निया र म्यासाचुसेट्ससहित २५ राज्यहरूले यस निर्णयविरुद्ध ट्रम्प प्रशासनमाथि मुद्दा दायर गरेका छन् । लाखौँ मानिसहरूको फुड सप्लाई रोक्नु गैरकानूनी भएको यी राज्यहरूको भनाइ छ ।
अमेरिकाको आर्थिक वर्ष अर्थात् खर्चको वर्ष अक्टोबर १ बाट सुरु हुन्छ । यो एक किसिमले सरकारको वित्तीय वर्ष हो, जसमा उसले आफ्नो पैसा कहाँ र कसरी खर्च गर्ने भन्ने योजना बनाउँछ ।
यस अवधिमा सरकारले सेना, स्वास्थ्य, वा शिक्षामा कहाँ खर्च गर्ने भन्ने निर्णय गर्छ । यदि यो मितिसम्म नयाँ बजेट पास भएन भने सरकारी कामकाज बन्द हुन्छ– जसलाई सटडाउन भनिन्छ ।
अमेरिकाका डेमोक्रेट र रिपब्लिकन दुई प्रमुख दलबीच ओबामा हेल्थ केयर सब्सिडी प्रोग्रामलाई लिएर विवाद छ । डेमोक्रेटहरू हेल्थ केयर (स्वास्थ्य बिमा) को सब्सिडी बढाउन चाहन्छन् । तर, रिपब्लिकनहरूलाई के डर छ भने यदि अनुदान बढाइयो भने सरकारले थप खर्चको बोझ व्यहोर्नुपर्नेछ जसले बाँकी सरकारी कामहरू प्रभावित पार्न सक्छ ।
बीबीसीबाट ।