site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रवि लामिछानेलाई सिंहदरबार लगियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बयानका लागि नख्खु कारागारबाट सिंहदरबार लगिएको छ । सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई बुधबार प्रहरीले कारागारबाट ‘जेनजी आन्दोलन छानबिन आयोग’को कार्यालय लगेको हो ।

जेनजी आन्दोलनका क्रममा कारागारबाट बाहिरिएको विवादास्पद घटनाबारे सोधपुछ गर्न आयोगले उनलाई बोलाएको हो ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले हिंसात्मक रूप लिएको थियो । भदौ २४ गते सहकारी ठगी मुद्दामा नख्खु कारागारमा रहेका लामिछाने पनि ‘असुरक्षा’को कारण देखाउँदै अन्य कैदीबन्दीसँगै कारागारबाट बाहिरिएका थिए ।

उनी बाहिर निस्कँदा प्रयोग गरिएको ‘रिहाइ पत्र’को आधिकारिकतामा प्रश्न उठेपछि यो घटना थप विवादमा तानिएको थियो । लामिछाने भने पछि आफैँ कारागार फर्किएका थिए ।

जेनजी आन्दोलन र सो क्रममा भएका हिंसात्मक घटना, दमन र कारागारबाट कैदीबन्दी भागेको समग्र घटनाक्रमको छानबिन गर्न सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरेको थियो ।

प्रकाशित मिति: बुधबार, कात्तिक १९, २०८२  १३:१६
प्रतिक्रिया दिनुहोस्