काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले कहिल्यै नफुट्ने गरी कम्युनिस्ट आन्दोलनलाई अघि बढाउनुपर्ने बताएका छन् ।
बुधबार (कात्तिक १९) काठमाडौंको भृकुटीमण्डपमा आयोजित कम्युनिस्ट पार्टी एकता कार्यक्रममा खनालले अहिले कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउन एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए । अब कहिल्यै नफुट्ने गरी अघि बढ्नुपर्ने उनको भनाइ छ ।
अहिलेको कम्युनिस्ट एकता देशको हितमा रहेकाले आफू सहभागी भएको उनको भनाइ छ । अब हिजो भएका कमीकमजोरीलाई सुधार गर्नुपर्ने उनको भनाइ छ ।
सुरुमा खनाल आफ्नो पार्टी नेकपा (एकीकृत समाजवादी) मा नेकपा (माओवादी केन्द्र) लगायतका दलहरूसँगको एकताको विपक्षमा देखिएका थिए । यद्यपि, अन्तिम समयमा भने उनी बुधबार एकता सभामा सहभागी हुन पुगेका थिए ।
खनालले कम्युनिस्टहरूमा एक-अर्काबीचको आरोपप्रत्यारोपको शृङ्खला अब अन्त्य हुनुपर्नेमा जोड दिए ।
जायज माग लिएर आन्दोलनमा उत्रिएका 'जेनजी'हरूको आन्दोलन हाइज्याक भएर हिसांत्मक घटनामा मोडिएको उनको तर्क छ । देश ध्वस्त पार्न देशी विदेशी प्रतिक्रियावादीले ठूलो षडयन्त्र गरेको उनको भनाइ छ । मुलुकको पुनर्निर्माण गर्ने ताकत कम्युनिस्टसँग मात्र रहेको उनको भनाइ छ ।