काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प लागुऔषध तस्करीसँग जुध्न आफ्ना सेना र खुफिया अधिकारीहरू मेक्सिको पठाउने तयारीमा रहेको एनबीसी न्युजले जनाएको छ ।
दुई बहालवाला र दुई अवकाशप्राप्त अमेरिकी अधिकारीलाई उद्धृत गर्दै यो मिसनमा सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी (सीआईए) पनि सामेल हुन सक्ने उक्त रिपोर्टमा भनिएको छ ।
ती अधिकारीहरूका अनुसार, ट्रम्प प्रशासनले मेक्सिकोमा लागुऔषध कार्टेलहरूलाई निसाना बनाउन अपरेसन योजनामा काम सुरु गरिसकेको बताइएको छ ।
अधिकारीहरूले सम्भावित मिसनसँग सम्बन्धित प्रारम्भिक तालिम सुरु भइसकेको पनि बताएका छन् । योजनाअनुसार, मेक्सिकोको भूमिमा समेत अपरेसन हुन सक्छ, तर सेना पठाउने अन्तिम निर्णय लिइएको छैन ।
एनबीसी न्युजका अनुसार, यो अपरेसनमा अमेरिकाको ज्वाइन्ट स्पेसल अपरेसन कमाण्डका टोलीहरू सामेल हुन सक्छन्, जसले सीआईएको अधिकार क्षेत्रअन्तर्गत काम गर्नेछन् ।
मिसनअन्तर्गत लागुऔषध प्रयोगशाला र कार्टेलका नाइकेहरूलाई निसाना बनाउन ड्रोन स्ट्राइकको योजना बनाइएको छ । धेरै ड्रोनहरू यस्ता छन्, जसको सञ्चालनका लागि जमिनमा पनि अपरेटरहरूको आवश्यकता पर्छ ।
फेब्रुअरीमा, अमेरिकी विदेश विभागले ६ वटा मेक्सिकन कार्टेल, एमएस–१३ ग्याङ र भेनेजुएलाको ‘ट्रेन डे अरागुआ’लाई विदेशी आतंकवादी संगठन घोषणा गरेको थियो ।
यो निर्णयले अमेरिकी सेना र सीआईएलाई गोप्य अपरेसनहरू गर्न खुला अनुमति दिन्छ । ट्रम्पले यसअघि पनि भेनेजुएलामा सीआईएलाई कारबाहीको मञ्जुरी दिएका थिए । र, आवश्यकता परेमा कार्टेलहरूलाई जमिनमै निसाना बनाउने संकेत दिएका थिए ।
मेक्सिकोबाट अमेरिकामा लागुऔषध तस्करी
मेक्सिको विश्वको सबैभन्दा ठूलो लागुऔषध तस्करी नेटवर्कको केन्द्र मानिन्छ । जहाँबाट कोकिन, हेरोइन, मेथ र फेन्टानिल जस्ता अत्यन्त खतरनाक लागुऔषधहरू अमेरिका पुग्छन् । अमेरिकी एजेन्सीहरूका अनुसार, देशमा लागुऔषधको सबैभन्दा ठूलो आपूर्ति मेक्सिकन कार्टेलहरूमार्फत हुन्छ ।
अमेरिका विश्वकै सबैभन्दा ठूलो लागुऔषध बजार हो । हरेक वर्ष लाखौँ मानिस लागुऔषधको लतको सिकार हुन्छन्, र फेन्टानिल जस्ता ड्रग्सका कारण हजारौँको मृत्यु हुन्छ । त्यसैले अमेरिकी सरकारमाथि लागुऔषध तस्करीमाथि कडा कारबाही गरोस् भन्ने लगातार दबाब रहन्छ । यसका लागि उसको नजर सधैँ मेक्सिकन कार्टेलहरूमा केन्द्रित रहन्छ ।
अर्कोतर्फ, कार्टेलहरू मेक्सिकोमा धेरै क्षेत्रहरूमा उनीहरूले प्रहरी र सरकारलाई नै चुनौती दिन सक्ने गरी शक्तिशाली भइसकेका छन् ।
हतियारधारी गिरोह, धम्की, भ्रष्टाचार र हिंसाका कारण स्थानीय प्रशासनले पनि कहिलेकाहीँ उनीहरूलाई रोक्न सक्दैन । कतिपय कार्टेलहरू त आफूलाई ‘छायाँ सरकार’ जस्तै सञ्चालन गर्छन् ।
अमेरिकी सेनाले इतिहासमा थोरै पटक मात्र मेक्सिकोमा प्रवेश गरेको छ । सबैभन्दा ठूलो कारबाही सन् १९१६ मा भएको थियो, जब जनरल जोन पर्सिङले मेक्सिकन क्रान्तिकारी पान्चो भिल्लाको पिछा गर्न सेना पठाएका थिए । त्यसपछि अमेरिका मेक्सिकोमा प्रत्यक्ष सैन्य कारबाहीबाट टाढा रहँदै आएको छ ।
कानुनी रूपमा अमेरिकाले मेक्सिकोको अनुमतिबिना सेना पठाउन सक्दैन । र, मेक्सिकोले सधैँ कुनै पनि विदेशी सैन्य हस्तक्षेपको विरोध गर्दै आएको छ । यदि यो अपरेसन साँच्चै भयो भने, यो १०० वर्षपछि मेक्सिकोमा अमेरिकी सेनाको पहिलो औपचारिक तैनाथी हुने बताइएको छ ।