काठमाडौं । तीन दिनपछि जेनजी प्रदर्शनको ठिक दुई महिना पुग्दै छ । भ्रष्टाचारले नेपालमा गाडेको जरा उखेलेरै फाल्नुपर्ने र सुशासनको माग गर्दै जेनजीका विभिन्न समूहले भदौ २३ गते काठमाडौंमा प्रदर्शन गरेका थिए ।
जेनजी आन्दोलनकै बलमा २७ घण्टाभित्रै दुई तिहाइको बलियो सरकार अपदस्थ भएको थियो । त्यसलगत्तै उनीहरुकै चाहनाअनुसार पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार गठन भएको थियो । त्यस सरकारले फागुन २१ म निर्वाचन गर्दै दलीय नेतृत्वलाई सत्ता हस्तान्तरणको तयारी गरेको छ ।
सोहीअनुसार प्रतिनिधिसभाको निर्वाचन पनि नजिकिँदै छ । चुनाव नजिकिँदै गर्दा जेनजी अगुवाहरु विभिन्न समिति र टिम बनाउनतिर व्यस्त छन् । तर, जेनजीका फरक–फरक टिम संगठित हुन भने सकिरहेका छैनन् ।
भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा ७६ जनाले ज्यान गुमाएका थिए । तीमध्ये ४५ जनालाई सरकारले सहिद पनि घोषणा गरिसकेको छ । अहिले जेनजीका फरक फरक समूह सक्रिय छन् । फरक फरक समूहमा हुँदा फेरि पनि निर्वाचनबाट पुरानै दल र अनुहार हाबी हुन सक्ने चिन्ता कतिपयको छ ।
एक आपसमा फरक समूहको अस्तित्व स्वीकार गर्न तयार नहुँदा फरक फरक समूह निर्माण भएको जेनजीकै अगुवाहरु बताउँछन् । जेनजी आन्दोलनको अगुवाइ गरेका सुधन गुरुङ समूहले अबको दुई दिनपछि आफ्नो मौनता तोड्ने बताइरहेको छ ।
त्यस्तै, जेनजी अभियन्ता मिरज ढुंगानाले छुट्टै टिम बनाएका छन् । उनको टिमले ‘गरिखान देऊ’ नामक समिति नै खडा गरेको छ । ढुंगानाले यसअघि सरकारलाई आफ्ना ‘बटमलाइन’ दिएर नयाँ राजनीतिक दल खोल्ने घोषणा गरिसकेका छन् ।
त्यस्तै, रिजन राना मगर (आदित्य) अमित खनाल (उर्जा) लगायतका जेनजी समूहले ‘जेनजी मुभमेन्ट अलायन्स’ खोलेका छन् ।
रक्षा बमको नेतृत्वमा जेनजी फ्रन्ट घोषणा गरिएको छ । जेनजी विद्रोहलाई संस्थागत गर्न राज्यसँग सम्झौता गर्ने एजेन्डाहरु एकीकृत गर्ने र यस विद्रोहसँग जोडिएका सबै व्यक्ति, समूह र संगठन तथा विद्रोहप्रति शुभेच्छा राख्ने सबै नेपाली नागरिकमा एकताको आह्वान जेनजी फ्रन्टले गरिरहेको छ ।
बमको नेतृत्वमा रहेको ३९ सदस्यीय टिमले अहिले सुशासनको लागि अभियान चलाइरहेको छ । यस समूहभित्रका उपसमूहले पनि संविधानका आधारभूत कुराहरुलाई चलाउन नहुने राय राखेको देखिन्छ ।
छिन्नभिन्न जेनजीका फरक–फरक एजेन्डा
जेनजी आन्दोलनमा एकत्रित बनेका जेनजीहरु त्यसयता भने छिन्नभिन्न बनेका छन् । उनीबीचका एजेन्डा र विचार नमिल्दा संगठित हुने अवस्था छैन । मिरज समूहले प्रत्यक्ष कार्यकारीलगायतका एजेन्डा पूरा नभए निर्वाचनमा भाग नलिने बताउँदै आएको छ ।
सोही एजेन्डा बमोजिम नै टिम यतिबेला आन्तरिक गृहकार्यमा मिरजले बताए ।
उनले बाह्रखरीसित भने, “हामी आन्तरिक गृहकार्यमा जुटेका छौँ । हाम्रो टिम छुट्टै छ । त्यो मौनता तोड्ने भन्ने हाम्रो होइन । हाम्रा मागहरु र एजेन्डाहरु सर्वत्र स्पष्टै छन् ।”
नागरिक स्तरको भ्रष्टाचार अनुसन्धान निकाय गठन, देशको स्थायित्व र स्थिर सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, नेपाली नागरिकता कायम राखेका विदेशस्थित नेपाली नागरिकलाई मतदान गर्न पाउने व्यवस्था गर्नुपर्ने एजेन्डा मिरजको टिमले अघि सारेको छ ।
-1760778089.jpg)
त्यस्तै, सुधन गुरुङको छुट्टै जेनजी समूह छ । सो समूहले अबको दुई दिनपछि आफूहरुको मौनता तोड्ने बताइरहेको छ । सो समूहले कस्तो खालको मौनता तोड्ने हो र के हुन लागेको हो ? भन्ने प्रश्न खडा भएको छ ।
प्रधानमन्त्री कार्की नेतृत्वको सरकारले जेनजी सहिदको सपना अनुसार, काम गर्न नसकेको दाबी सुधन समूहको छ ।
“साना भाइ बहिनीहरुले बगाएको रगत र बलिदान गरे अनुसार, प्रधानमन्त्रीले काम गर्न सक्नुभएन । उहाँ प्रधानमन्त्री बन्दा सम्मानका साथ ढोग्नुभएको थियो । अब त्यस्तो हुँदैन । प्रधानमन्त्रीले काम गर्न सक्नुभएन,” सुधननिकट स्रोतले भन्यो ।
यद्यपी सुधनले भने यसबारेमा सार्वजनिक केही बताएका छैनन् । जेनजी प्रदर्शनदेखि प्रधानमन्त्री बनाउनसम्म भूमिका खेलेका सुधन समूह कसरी अगाडि बढ्छ भन्ने कुरा अहिलेसम्म खुल्न सकेको छैन ।
त्यस्तै, रक्षा बम समूहले सुशासनको नारा अघि सार्दै संविधानलाई जोगाउनुपर्ने पक्षमा उभिएको छ । जेनजी प्रदर्शनपछि बनेको अन्तरिम सरकारले चुनाव केन्द्रित भएर काम गर्नुपर्ने विचार बम नेतृत्वको जेनजी फ्रन्टले गर्दै आएको छ ।
सोहीअनुसार, आफूहरुले तयारी गरिरहेको बमले बताइन् । उनी भन्छिन्, “हामीले सबैलाई समेट्ने गरी तयारी गरिरहेका छौँ । अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल र गृहकार्य गरिरहेका छाँै ।”
उनले २१ पृष्ठको दस्तावेजसहित फ्रन्ट घोषणा गरेकी थिइन् ।
बमको संयोजकत्वमा गठन भएको फ्रन्टमा युजन राजभण्डारी, यतिष ओझा, मनिष खनाल, आदित्य कर्ण, ऋतु खड्का, संविधान प्रसाईं, नजिर आलम, आसन अन्सारी, पूजा मेहतालगायत सदस्य छन् ।
राजनीतिक विचार मिल्ने सबै जेनजी एक हुनुपर्ने परिकल्पना यो मार्चाले गरेको दाबी गरिएको छ ।

हर्क साम्पाङदेखि कुलमानको पार्टी
चुनाव नजिकिएसँगै निर्वाचन आयोग तयारीमा जुटेको छ । आयोगमा दल दर्ता गर्नेको संख्या १२५ पुगेको छ । जसमा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको श्रम संस्कृति पार्टी पनि दर्ता भएको छ ।
साम्पाङले अहिले आफ्नो संगठन विस्तार तीव्ररुपमा गरेका छन् ।

त्यस्तै, अन्तरिम सरकारका ऊर्जा, सहरी विकासमन्त्री कुलमान घिसिङको नेतृत्वमा नयाँ दल खोल्ने तयारी भइरहेको चर्चा पनि चलिरहेको छ ।
यस्तो छ राजनितिक विश्लेषकको सुझाव
राजनितिक विश्लेषक डा. विष्णु दाहालले राजनितिक दलहरुजस्तै जेनजीभित्र पनि आन्तरिक र बाह्य प्रभाव परेकाले अन्योलता सिर्जना भइरहेको बताउँछन् । “राजनितिक दलभित्रको गुट हुन्छन् । त्यो आन्तरिक विषय भयो । तर, दलहरुभित्र बाह्य र भित्री प्रभाव हुन्छ,” उनले भने ।
दलहरुका यस्ता क्रियाकलापकै विरोधमा जेनजी प्रदर्शन भएको तर, जेनजी नै दलहरु जसरी आन्तरिक र बाह्य प्रभावमा परेको उनको दाबी छ । उनका अनुसार, दलको विकल्प दल भन्दा पनि देशलाई कस्तो मोडालिटीमा अगाडि बढाउने भन्ने विषयमा समाजमा यतिबेला बहस भइरहेको छ ।
उनले थपे, “जनताहरुमा अहिले को ठिक को बेठिक भन्ने छ । सात आठ/पटक मत हालेका जिताएकाहरुले राम्रो काम नगरेपछि अहिले समस्या समाधानको बाटो खोजिँदै छ ।”
