site stats
बाह्रखरी :: Baahrakhari
विदेश
ऐतिहासिक जितपछि न्युयोर्कका मेयर मःम खान पुगे नेपाली रेस्टुरेन्ट !

काठमाडौं । विश्वको आर्थिक राजधानी मानिने अमेरिकाको न्युयोर्क सहरको मेयरमा ३४ वर्षीय जोहरान ममदानीले ऐतिहासिक जित हासिल गरेपछि विश्वव्यापी ध्यान तानेको छ । 

चुनाव जितेलगत्तै उनी खाना खान एक नेपाली रेस्टुरेन्टमा पुगेका थिए । त्यहाँ उनले मःम र दूध चियाको आनन्द लिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ममदानीलाई हराउन धेरै प्रयास गरेका थिए । तर, उनले पहिलो चरणमै चुनाव जिते ।

उनी न्युयोर्कको मेयरमा निर्वाचित सबैभन्दा लोकप्रिय युवामध्ये एक बनेका छन् । उनी सहरको इतिहासमा पहिलो मुस्लिम र दक्षिण एसियाली मूलका मेयर पनि हुन् ।

चुनाव जितेपछि ममदानी ज्याक्सन हाइट्सस्थित एक नेपाली रेस्टुरेन्टमा दिउँसोको खाना खान गएका थिए । बुधबार दिउँसो उनी लालीगुराँस बिस्ट्रोमा खाना खान पुगेका हुन् । यसबारे उनले आफ्नो एक्स खातामा जानकारी सेयर गरेका छन् ।

उनलाई रेस्टुरेन्टमा मःम, चाउचाउ, आलु र दूध चियाको आनन्द लिइरहेको देखियो । एक्समा आफ्नो खानाको तस्बिर सेयर गर्दै उनले बिहान अन्तर्वार्ता र विभिन्न बैठकमा बिताएको उल्लेख गरेका छन् ।

उनले दिनको विशेष क्षण ज्याक्सन हाइट्सस्थित लालीगुराँस बिस्ट्रोमा आफ्नी कंग्रेसवुमन – अलेक्जान्ड्रिया ओकासियो–कोर्टेजसँग दिउँसोको खाना खानु रहेको बताएका छन् ।

उनले एक्समा लेखेका छन्, “मेयर निर्वाचित भएपछिको पहिलो दिन बिहानैदेखि अन्तर्वार्ता, बैठक र तयारीले भरिएको छ । तर, मेरी कंग्रेसवुमन – अलेक्जान्ड्रिया ओकासियो–कोर्टेजसँगको दिउँसोको खाना एक विशेष थियो ।”

ज्याक्सन हाइट्स न्युयोर्क सहरको सबैभन्दा बहुसांस्कृतिक छिमेकमध्ये एक हो । त्यहाँ नेपाली, भारतीय, बंगलादेशी, पाकिस्तानी र अरू दक्षिण एसियाली आप्रवासीको ठूलो समुदाय बस्छ । त्यहाँका नेपाली रेस्टुरेन्ट स्थानीय र आगन्तुकमाझ लोकप्रिय छन् ।

 

प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०८२  ०९:५८
प्रतिक्रिया दिनुहोस्