site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
विदेशमा रहेका नागरिकलाई मताधिकार : सरकारले सहजीकरण गरे आयोग तयार
फाइल तस्बिर ।

काठमाडौं । विदेशमा रहेका नेपालीलाई मतदानको अधिकारबारे ऐन संशोधन प्रस्तावमा निर्वाचन आयोगले राय पठाएको छ । मताधिकारका विषयमा मतदाता नामावली, निर्वाचन कसुर तथा सजाय, निर्वाचन आयोग र प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनमा संशोधनका निम्ति गृह मन्त्रालयको प्रस्तावमा आयोगले राय दिएको हो ।

“गृृह मन्त्रालयले चारवटा अध्यादेशको प्रस्ताव रायका लागि पठाएको थियो । त्यसमा हामीले राय पठाएका छौँ,” कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बाह्रखरीसित भने ।

उनका अनुसार, सरकारले विदेशमा रहेका नेपालीलाई मताधिकार दिनुपर्ने विषयमा केही समयअघि एकपटक छलफल गरेको थियो । “विदेशमा रहेका नेपालीलाई मतको अधिकार दिनुपर्छ भनेर एकपटक छलफल भएको थियो,” उनले भने ।

विदेशमा रहेका नेपालीलाई मताधिकारबारे आफूहरू निचोडमा पुगिनसकेको उनले बताए । तर, सरकारले कानुन बनाएर सहजीकरण गरे आयोग तयार रहेको उनले स्पष्ट पारे ।

“निचोडमा पुगिसकेको छैन । सरकार पनि निचोडमा पुगिसकेको जस्तो लाग्दैन,” उनले भने, “सरकारले कानुन बनाएर दिन्छ, सहजीकरण गर्छ भने आयोग तयार छ भनिसकेका छौँ ।”

विदेशमा रहेका नेपालीलाई मताधिकारका विषयमा लामो समयदेखि बहस भइरहेको छ । सर्वोच्च अदालतले मताधिकार सुनिश्चित गर्न भनिसकेको छ । तर, यसनिम्ति राजनीतिक दलको सहमति, सम्पूर्ण तयारी आवश्यक रहेको आयोगका पदाधिकारी बताउँछन् ।

 

 

प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०८२  १४:५१
प्रतिक्रिया दिनुहोस्