site stats
बाह्रखरी :: Baahrakhari
विदेश
अमेरिकाले आणविक परीक्षण सुरु गरे रुसले पनि गर्ने पुटिनको चेतावनी

काठमाडौं । अमेरिकाले आणविक हतियार परीक्षण सुरु गरे रुसले पनि आणविक हतियारको परीक्षण सुरु गर्ने चेतावनी दिएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आणविक हतियार परीक्षणको तयारी गर्न क्रेमलिनका उच्च अधिकारीहरूलाई निर्देशन दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हतियारको परीक्षण तत्काल पुनः सुरु गर्न दिएको आदेशको जवाफमा मस्कोले यस्तो कदम चालेको हो ।

क्रेमलिनद्वारा प्रकाशित बैठकको बक्तव्यअनुसार पुटिनले बुधबार आफ्नो सुरक्षा परिषद्‌मा अमेरिका वा व्यापक आणविक परीक्षण प्रतिबन्ध सन्धिमा हस्ताक्षर गर्ने कुनै देशले आणविक हतियार परीक्षण गरे रुसले पनि पारस्परिक उपायहरू अपनाउन बाध्य हुने बताए ।

“यस सन्दर्भमा, म विदेश मन्त्रालय, रक्षा मन्त्रालय, विशेष सेवाहरू र सम्बन्धित नागरिक निकायहरूलाई यस विषयमा अतिरिक्त जानकारी संकलन गर्न, सुरक्षा परिषद्‌द्वारा यसको विश्लेषण गराउन र आणविक हतियार परीक्षणको तयारीमा केन्द्रित सम्भावित पहिलो कदमहरू बारे समन्वित प्रस्तावहरू पेस गर्न हरसम्भव प्रयास गर्न निर्देशन दिन्छु,” पुटिनले भनेका छन् ।

सन् १९९१ मा सोभियत संघको पतन भएदेखि मस्कोले आणविक हतियार परीक्षण गरेको छैन ।

विश्वको सबैभन्दा ठूलो आणविक हतियार भण्डार भएका यी दुई देशबीचको तनाव पछिल्ला हप्ताहरूमा बढेको छ । युक्रेन युद्ध अन्त्य गर्न आफूले गरेको प्रयास सफल नहुँदा ट्रम्प पछिल्लो समय पुटिनसँग निराश बनेका छन् ।

अक्टोबरमा हंगेरीमा पुटिनसँगको शिखर सम्मेलन रद्द गरेको एक दिनपछि ट्रम्पले दुई प्रमुख रुसी तेल फर्महरूमाथि प्रतिबन्ध लगाएका थिए । यो ट्रम्पले अमेरिकी राष्ट्रपतिको दोस्रो कार्यभार सम्हालेपछि लगाइएको यो पहिलो प्रतिबन्ध थियो ।

त्यसपछि, अक्टोबर ३० मा ट्रम्पले रक्षा विभागलाई अन्य आणविक–सशस्त्र शक्तिहरूसँग समान आधारमा आणविक हतियार परीक्षण तत्काल पुनः सुरु गर्न आदेश दिएको बताएका थिए ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०८२  १५:०२
प्रतिक्रिया दिनुहोस्