काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले राष्ट्रिय स्वाधिनताका लागि ‘जेनजी’ले विद्रोह गरे पनि राष्ट्रघात भएको बताएका छन् । काठमाडौंको भृकुटीमण्डपमा बिहीबार (कात्तिक २०) आयोजित बृहत् जनसभालाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्डले विगतको भन्दा कयौँ गुणा साम्राज्यवादको हस्तक्षेप भएको बताए । उनले भने, “राष्ट्रिय स्वाधिनताको मुद्दा अहिलेको सन्दर्भमा मुख्य बनेर आएको छ ।”
नेपाली जनताको प्रतिनिधित्व गर्ने अन्तरिम सरकार नबनेको उनको आरोप छ । प्रकाण्डले भने, “साम्राज्यवादले दिएको निश्चित प्रोजेक्ट सक्न सरकार लागि परेको छ । अन्तरिम सरकारका मन्त्रीहरू सबै भ्रष्टाचार र कमिसनको खेलो गर्ने व्यक्ति बनेका छन् ।”
अहिलेको सरकार जेनजी आन्दोलनप्रति न्यूनतम पनि जवाफदेही नरहेको उनको जिकिर थियो । अंग्रेजी साम्राज्यवादप्रति जवाफदेही रहेको, चुनावविरुद्ध षड्यन्त्र गर्न ल्याएको सरकार रहेको पनि उनले आरोप लगाए । अहिलेको देशको स्थिति साम्राज्यवादले काम गर्न नदिएको भन्दै प्रधानमन्त्री शुशीला कार्कीले राजीनामा दिनुपर्ने उनको भनाइ छ ।
अहिलेको अवस्थामा सर्वपक्षीय अन्तरिम सरकार आवश्यक रहेको उनको भनाइ छ । ओली सरकारले मूर्खतापूर्ण काम गरेका कारण जेनजी विद्रोह जन्मिएको उनको भनाइ थियो ।