site stats
बाह्रखरी :: Baahrakhari
विदेश
मेक्सिकोकी राष्ट्रपतिमाथि यौन दुर्व्यवहार, प्रहरीमा दिइन् उजुरी

काठमाडौं । मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेइनबामले एक पुरुषविरुद्ध यौन दुर्व्यवहारको उजुरी दर्ता गराएकी छन् । एक व्यक्तिले उनलाई गलत तरिकाले छुने र चुम्बन गर्ने प्रयास गरेको घटनापछि उनले यो कदम चालेकी हुन् । मेक्सिकोको राजधानीमा नोभेम्बर ४ एक बैठकबाट अर्को बैठकमा जाँदै गर्दा उक्त घटना भएको थियो ।

सामाजिक सञ्जालहरूमा व्यापक रूपमा भाइरल भइरहेको एउटा भिडियोमा रक्सीको नशामा देखिएका एक पुरुष उनी नजिक पुगेर उनलाई चुम्बन गर्न खोज्दै र हातले उनको शरीर छुन खोजेका थिए । ६३ वर्षीया शेइनबामले ती पुरुषको हात बिस्तारै पन्छाएकी थिइन् ।

शेइनबामले मेक्सिकोका सबै महिलाहरूको तर्फबाट मुद्दा दर्ता गर्ने जिम्मेवारी आफूले महसुस गरेको बताइन् । यो घटनापछि राष्ट्रपतिसँग यस्तो हुन सक्छ भने देशका युवा महिलाहरू कसरी सुरक्षित रहनेछन् भन्ने प्रश्न शेइनबामले उठाएकी छन् ।

उनले आफू १२ वर्षकी हुँदा स्कुल जान सार्वजनिक यातायात प्रयोग गर्दा पनि यस्तै किसिमका दुर्व्यवहारका घटना भोगेको बताइन् । उनले भनिन्, “मैले मुद्दा दर्ता गर्ने निर्णय गरेँ, किनभने यो मैले एक महिलाको रूपमा अनुभव गरेको कुरा हो, जुन हामी महिलाहरूले हाम्रो देशमा अनुभव गर्छौं ।”

मेक्सिकोकी प्रथम महिला राष्ट्रपतिले कुनै पनि पुरुषलाई महिलाको निजी घेरामा जबरजस्ती प्रवेश गर्ने अधिकार नभएको बताइन् ।

मेक्सिको सिटीका मेयर क्लारा ब्रुगाडाले ती पुरुषलाई रातभरि नियन्त्रणमा लिइएको घोषणा गरेकी थिइन् । ब्रुगाडाले मेक्सिकोको सबैभन्दा शक्तिशाली महिलालाई भएको दुर्व्यवहार सबै महिलामाथिको आक्रमण भएको बताइन् ।

यो घटनाले मेक्सिकोमा महिलाहरूको बढ्दो असुरक्षा र लैङ्गिक हिंसा बढेको तर्फ ध्यानाकर्षण गराएको बताइएको छ । यसले शेइनबामको सुरक्षालाई लिएर पनि प्रश्न खडा गरेको छ ।

अघिल्ला राष्ट्रपति आन्द्रेस मानुएल लोपेज ओब्राडोरजस्तै शेइनबाम पनि न्यूनतम सुरक्षाकर्मीका साथ नै बाहिर निस्किन्छिन् । उनी सार्वजनिक रूपमा आम मानिसका लागि उपलब्ध रहन्छिन् र प्रायः भीडको बीचमा जान्छिन् । यौन दुर्व्यवहारको घटनापछि पनि निर्वाचित नेताहरू मानिसहरूको नजिकै रहनुपर्ने भन्दै उनले त्यसो गर्न नछोड्ने बताएकी छन् ।

राष्ट्रपति शेइनबामले बुधबार यौन दुर्व्यवहारलाई देशभर एउटा अपराधको रूपमा घोषणा गर्न आह्वान गरेकी छन् । मेक्सिकोकी प्रथम महिला राष्ट्रपति शेइनबामले आफ्नो दैनिक पत्रकार सम्मेलनमा महिलाहरूलाई यस्ता आक्रमणहरू रिपोर्ट गर्न सजिलो होस् भन्नका लागि मेक्सिकोका राज्यहरूलाई आफ्ना कानुन र प्रक्रियाहरूको छानबिन गर्न आह्वान गरिन् ।

 

प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०८२  १६:४७
प्रतिक्रिया दिनुहोस्