सुर्खेत । पार्टी एकताको विपक्षमा उभिएका पूर्वमाओवादी नेता जनार्दन शर्माले कर्णाली प्रदेशका पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई तत्काल नखुल्न निर्देशन दिएको पाइएको छ ।
नेकपा (माओवादी केन्द्र)ले नेकपा (एकीकृत समाजवादी)सहित १० घटकसँग एकता गर्ने निर्णय गरेपछि जनार्दनसहितको एक समूह विपक्षी कित्तामा उभिएको थियो ।
गत बुधबार (कात्तिक १९) काठमाडौंमा सम्पन्न एकता सम्मेलनमा कर्णालीबाट निर्वाचित जनार्दन पक्षका जनप्रतिनिधि पनि पद जोगाउनकै लागि कार्यक्रममा सहभागी भएको एक नेताले बाह्रखरीसँग बताए ।
यता कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री एवं कर्णाली प्रदेशसभाका माओवादी केन्द्र संसदीय दल नेता राजकुमार शर्मा न एकता सम्मेलनमा देखिए न त जनार्दनले घोषणा गरेको 'प्रगतिशील अभियान'को पत्रकार सम्मेलनमा । राजकुमारले सांसद पद जोगाउन चलाखी गर्न खोजेको आरोप पूर्वमाओवादी नेताहरूको आरोप छ ।
जनार्दन निकट एक जनप्रतिनिधिका अनुसार, स्थानीय र प्रदेशका जनप्रतिनिधिको कार्यकाल नसकिने बेलासम्म कतै पनि नखुल्न आफूलाई निर्देशन आएको छ ।
“अहिले हामी जनताले चुनेर पठाएको जनप्रतिनिधि हौँ पार्टीको कार्यकर्ता होइनौँ । त्यसैले केही समयका लागि राजनीति गतिविधिमा सहभागी हुँदैनौँ,” एक जनप्रतिनिधिले बाह्रखरीसँग भने, “त्यसैले जनताको कामबाहेक अन्य पार्टी गतिविधिमा हामी सहभागी हुन्नौँ ।”
कर्णाली प्रदेशसभामा माओवादी केन्द्रका १३ प्रदेशसभा सांसद छन् । जसमध्ये कालीकोटका दुर्गाबहादुर रावत र सुर्खेतका विन्दमान विष्टबाहेक सबै जनार्दन निकट मानिन्थे । जनार्दनले पनि बाँकी सबै सांसदलाई आफू पक्षको भनेर बताउँथे ।
संस्थापन पक्षबाट दल नेताको रूपमा अघि सरेका विन्दमान विष्ट जनार्दनकै अवरोधका कारण राजकुमार शर्मा दल नेता चुनिएका थिए । पछिल्लो समय अधिकांश सांसद एकताको पक्षमा देखिएका छन् ।
माओवादी केन्द्रबाट प्रतिनिधित्व गर्ने कर्णाली प्रदेशसभा सदस्य वीरबहादुर शाहीले अहिले आफू छलफलमै रहेकाले अहिले नै पक्ष खुलाउन आवश्यक नरहेको बताए । शाहीले आफू अहिले काठमाडौंमा रहेको र पार्टीका नेताहरूसँग छलफल गरिरहेको बताए ।
“म एकताको पक्षमा वा विद्रोही पक्षमा कतै छैन । म नेताहरूसँग छलफलमै छु । अबको २/४ दिनमा कुन पक्षको हो भनेर बाहिर आउला,” उनले भने ।
प्रदेश सांसदहरू जुम्कित लामा (कार्की) र उर्मिला विश्वकर्माले पनि अहिले नै पक्ष–विपक्षमा नखुल्ने बताइन् । तर, अन्य प्रदेशसभा सदस्यहरूले भने आफूहरू पार्टी एकताको पक्षमा रहेकाले जनार्दनलाई समेत एकताको पक्षमा आउन आग्रह गरेका छन् ।
यता नवगठित नेपाली कम्युनिस्ट पार्टीका एक नेताले पार्टीविरुद्ध लाग्ने जो कोहीलाई कारबाही हुने बताए । आवश्यक परेर कानुनी प्रक्रियामा समेत जाने उनको भनाइ छ ।
“अहिले हामी छलफलमै छौँ । पार्टीविरुद्ध गतिविधि गर्नेहरूलाई के गर्न सकिन्छ भनेर छलफल गरिरहेका छौँ,” ती नेताले भने ।
संस्थापन पक्षले कर्णालीका पूर्वमुख्यमन्त्री राजकुमार शर्मामाथि पार्टी एकताविरोधी गतिविधि गरिरहेको आरोप लगाएको छ । “पार्टीको नेता हुँ पनि भन्ने पार्टी एकताको पक्षमा लागिरहेको बेला त्यसको विरोध पनि गर्ने कहाँ हुन्छ ? उहाँहरूले कि त पार्टी छाड्यौँ भन्नु पर्यो कि त आफ्नो जिम्मेवारीबाट बिदा लिनुपर्यो,” ती नेताले भने ।
तर, यता जनार्दननिकट निर्वाचित जनप्रतिनिधि एकताबाट बनेको नेपाली कम्युनिस्ट पार्टीको आदेश पनि नमान्ने र जनार्दको पक्षको खुलेर पनि नबोल्ने पक्षमा छन् ।
