काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री सुशीला कार्कीको संवाद गर्ने अनिच्छाले सरकार र दलहरूबीचको दूरी बढ्ने चिन्ता व्यक्त गरेको छ ।
चितवनको सौराहमा आजबाट सुरु भएको विस्तारित बैठकमा कार्यवहाक सभापति डीपी अर्यालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा देशको अभिभावक कसैप्रति पनि पूर्वाग्रही बन्न नहुने उल्लेख छ ।
“निर्वाचन नै मुख्य कार्यभार रहेको सरकारले दलहरूलाई विश्वासमा लिएर चुनावी वातावरण बनाउने प्रयास त थालेको छ । तर, केही नेता विशेषसँग प्रधानमन्त्री स्वयमको संवाद अनिच्छाले ती दल र सरकारबीचको दूरी बढाउने हो कि भन्ने स्वभाविक चिन्ता पनि छ,” प्रतिवेदनमा भनिएको छ, “सरकार सबै दल, नेता र जनताको अभिभावक भएकाले उसमा कसैप्रति पनि आग्रह पूर्वाग्रह पटक्कै हुनुहुन्न ।”
रास्वपाले 'जेजनी' आन्दोनले खस्किएको प्रहरीको मनोबल, अझै पनि कारागार नफर्किएका कैदी चुनावका चुनौती देखेको छ ।
“प्रहरीको खस्किएको मनोबल, आन्दोलनका क्रममा लुटिएका हतियार, अझै कारागार नफर्किएका कैदी, 'जेनजी'का नाममा आइरहेका विभिन्न माग र भइरहेका अस्वाभाविक व्यवहार पनि चुनावका चुनौती हुन् । यसतर्फ सरकार सचेत हुनुपर्छ,” प्रतिवेदनमा उल्लेख छ ।