site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गगन थापालाई पौडेलको प्रश्न : महामन्त्रीमा भोट हालेका नौ प्रतिशतले किन तपाईंको साथ छोडे ?

काठमाडौं । नेपाली कांग्रेसका नेता किरण पौडेलले पार्टी पदाधिकारीकै गैरजिम्मेवार भूमिकाले पार्टीमा विग्रह निम्तिएको आरोप लगाएका छन् । गत असोज २८ देखि जारी केन्द्रीय समिति बैठकमा शुक्रबार (कात्तिक २१) बोलेका पौडेलले दुई महामन्त्रीको भूमिकाले पार्टीमा विवाद बढिरहेको आरोप लगाए । 

उनले ‘जेनजी’ आन्दोलन आउनुमा महामन्त्रीहरूको भूमिका रहेको अरोप लगाए । “तपाईं पदाधिकारीज्यूहरूलाई हामी सबै सदस्यहरूले चिनेका छौँ । तपाईंहरूको मिलेमतोले यो अवस्था (जेनजी आन्दोलन र अराजकता) आउन मद्दत गरेको छ,” पौडेलले भने, “तपाईंहरू आफैँ समानुपातिक सिट लिनुभएको हो, आफनो पार्टीका साथीहरूलाई बलि चढाएर आफू जितेर आउनु भएकै हो ।” 

आफूले ४५ वर्षको सक्रिय राजनीतिमा अहिलेसम्म वडा अध्यक्षको टिकटसमेत नलिएको भन्दै पार्टीमा निस्वार्थ काम गरेकाहरूलाई पदाधिकारीले अपमान गरिरहेको बताए । “तपाईंहरूले हामीलाई जलाएर खरानी घस्न होडबाजी गरिरहनु भएको छ । विशेष महाधिवेशनका लागि बकाइदा हस्ताक्षर गर्नुहोस्, हस्ताक्षर गर्नै चाहनुहुन्छ भने २४ गतेभित्रै गर्नुहोस भनेर पार्टी महामन्त्रीले आह्वान गर्ने हो ?,” महामन्त्री विश्वप्रकाश शर्मालाई उनको प्रश्न थियो । 

महामन्त्री गगन थापाले विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेकाहरूलाई देखाएर शक्ति प्रदर्शन गरिरहेको उनको आरोप छ । उनले हस्ताक्षर नगरेका कांग्रेस हुन वा होइनन् भनेर प्रश्न गरेका थिए । “भदौ २४ गतेसम्म हस्ताक्षर नगरेकालाई के गर्नु हुन्छ ? हस्ताक्षर गराएर अलपत्र पार्नु भयो भने तपाईंहरूलाई इतिहासले के पुरस्कार देला ?,” गगनतर्फ प्रश्न गर्दै उनले भने, “महामन्त्रीज्यू तपाईंलाई ६३ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले भोट हालेका थिए, आज तपाईंहरूले आह्वान गरेर करकापमा पारेर ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको मात्र हस्ताक्षर भयो, ती सबै हस्ताक्षरकर्ता महाधिवेशन प्रतिनिधिहरूलाई सम्मान छ, तर तपाईंहरूलाई भोट दिएका नौ प्रतिशत साथीहरूले किन छाडे ? तपाईंहरूको मधुरबाणी सुन्न मेरा कान आतुर छन् ।” 
 
उनले जेनजी आन्दोलन आउनुमा पार्टीका भातृ संगठनहरू तरुण दल र नेविसंघलाई सामयिक चलाउन नसक्नु कारण रहेको भन्दै त्यसको दोष महामन्त्रीहरूले लिनुपर्ने हो कि होइन भन्दै प्रश्न गरे । उनले सामाजिक सञ्जालमा आउने वक्तव्य वा प्रायोजित अनलाइनका समाचारले महाधिवेशन नहुने भन्दै गर्ने नै भए प्रक्रियाभित्र बसेर काम गर्न आग्रह गरे । 

खासगरी सदस्यता व्यवस्थापन गर्न नसकेकोमा महहामन्त्रीलाई उनको प्रश्न थियो । “प्रायोजित अनलाइन पत्रिका र सामाजिक सञ्जालमा आकर्षक डिजाइनमा सामग्री प्रकाशित गरेर अधिवेशन हुँदैन,” पौडेलले भने, “आत्मा आलोचना गर्नुहोस्, काम गर्नुहोस् महाधिवेश हुन्छ । आफूले काम नगर्ने, अरुलाई दोष दिएर उम्किन मिल्दैन महोदय !”

प्रकाशित मिति: शुक्रबार, कात्तिक २१, २०८२  १७:१९
प्रतिक्रिया दिनुहोस्