काठमाडौं । रुसी सेना अन्ततः युक्रेनको पूर्वी सहर पोक्रोभ्स्क कब्जा गर्ने सँघारमा पुगेको सीएनएनले जनाएको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले २१ महिनादेखि ठूलो मूल्य चुकाएर यसलाई पछ्याइरहेका थिए । यसलाई एउटा ठूलो प्रतीकात्मक विजय मानिएको छ ।
रुसी सेना सफलतापूर्वक सहरभित्र पसेपछि पछिल्ला केही दिनदेखि त्यहाँ लडाइँ तीव्र भएको छ । स्थानीयका अनुसार, यसको रणनीतिक मूल्य पहिले नै धेरै कम भइसकेको छ । अब पोक्रोभ्स्कको पतन लगभग निश्चित छ । यो सन् २०२३ यता मस्कोको सबैभन्दा ठूलो जित हुने जनाइएको छ ।
किभले पोक्रोभ्स्कमा रहेका युक्रेनी सैनिकलाई रुसले घेरिसकेको भन्ने दाबीलाई अस्वीकार गरेको छ । रुसी सफलतालाई रोक्ने सक्रिय कारबाही अझै जारी रहेको युक्रेनले जनाएको छ ।
पोक्रोभ्स्क लामो समयसम्म युक्रेनीका निम्ति मुख्य सहरका रूपमा हेरिन्थ्यो । किनभने, यसको सडक र रेलमार्गको जङ्सन थियो, जसले पूर्वमा डोनेट्स्क र कोस्ट्यान्टिनीभ्का तथा पश्चिममा निप्रो र जापोरिझ्झिया सहरसम्म जोड्थ्यो । यद्यपि, रुसले गर्मीयाममा पोक्रोभ्स्कलाई घेर्न थालेपछि त्यो अवस्था बदलियो ।
मुख्य राजमार्ग र रेलमार्गमा बारम्बार गरिने ड्रोन आक्रमणले युक्रेनलाई वैकल्पिक आपूर्ति मार्ग खोज्न बाध्य तुल्याएको थियो । यो रुसीहरूका निम्ति एउटा ठूलो सफलता मानिएको छ । यो सहरमा युक्रेनद्वारा सञ्चालित अन्तिम कोकिङ कोलखानी पनि थियो । तर, त्यो यो वर्षको सुरुमा बन्द गर्नुपरेको थियो ।