site stats
बाह्रखरी :: Baahrakhari
विदेश
गाजामा ज्यान गुमाउने प्यालेस्टिनीको संख्या ६९ हजार नाघ्यो

काठमाडौं । गाजामा ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ । गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार, ०२३ अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणपछि हालसम्म मृतकको संख्या ६९ हजार १६९ पुगेको छ । एक लाख ७० हजार ६८५ जना घाइते भएको एपीले जनाएको छ ।

गाजापट्टीमा युद्धविरामको घोषणापछि भग्नावशेषमुनिबाट शव फेला परिरहेकाले मृतकहरूको संख्या अझै बढिरहेको मन्त्रालयले जनाएको छ ।

यसैबीच, शनिबार इजरायलले हमासलाई थप १५ जना प्यालेस्टिनीको शव फिर्ता गरेको छ । युद्धविराम सम्झौताअन्तर्गत इजरायलबाट १५ प्यालेस्टिनीको शव प्राप्त भएको गाजाका अस्पताल अधिकारी र हमासका प्रतिनिधि जनाएका छन् ।

एक दिनअघि मात्र हमासले बन्धक बनाइएका एक व्यक्तिको शव इजरायललाई फिर्ता गरेको थियो । युद्धविराम सम्झौताअन्तर्गत इजरायलले प्रत्येक इजरायली बन्धकको बदलामा १५ प्यालेस्टिनीको शव सुम्पिएको हो । 

अधिकारीहरूले शव शनिबार खान युनिसस्थित नासिर अस्पतालमा ल्याइएको जनाएका छन् । हमासद्वारा अर्को एक व्यक्तिको शव सुम्पिनु अमेरिकाको मध्यस्थतामा भएको युद्धविराम सम्झौताको कार्यान्वयनतर्फको अर्को कदम मानिएको छ ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले जारी गरेको एक विज्ञप्तिअनुसार, हमासले अर्को एक बन्धकको शव फिर्ता गरेको उल्लेख छ, जसको पहिचान लियोर रुडेफको रूपमा भएको छ । 

‘होस्टेजेस एन्ड मिसिङ फ्यामिलिज फोरम’का अनुसार, रुडेफको जन्म अर्जेन्टिनामा भएको र उनी बाल्यकालमै दक्षिणी इजरायल आएका थिए । फोरमले हमासको हमलामा रुडेफको मृत्यु भएको र त्यसपछि उनको शव गाजा लगिएको जनाएको छ ।

युद्धविराम सम्झौता अक्टोबर १० देखि लागु भएपछि हमासले रुडेफको शवसहित २३ बन्धकहरूको शव सुम्पिसकेको छ । हाल पनि पाँच बन्धकको शव गाजामा छ ।

इजरायलले हालसम्म हमासलाई ३०० प्यालेस्टिनीको शव फिर्ता गरिसकेको छ । गाजाका स्वास्थ्य अधिकारीहरूले डीएनए परीक्षणका किट अभावका कारण शवहरूको पहिचानमा कठिनाइ भइरहेको बताएका छन् । अहिलेसम्म उनीहरूले ८४ शवको मात्र पहिचान गर्न सकेका छन् ।

युद्धविराम सम्झौताअन्तर्गत इजरायलले गाजामा ठूलो मात्रामा राहत सामग्री पुर्‍याउन अनुमति दिनुपर्ने थियो । संयुक्त राष्ट्रसंघका उपप्रवक्ता फरहान हकका अनुसार, यो सम्झौताअन्तर्गत राहत कार्य अझै पनि गाजाको आवश्यकताभन्दा निकै कम छ ।

उनले भने, “गाजामा दुई लाख मेट्रिक टनभन्दा बढी राहत सामग्री पुर्‍याउने योजना छ । तर, अहिलेसम्म केवल ३७ हजार टनमात्र पुर्‍याउन सकिएको छ ।”

एपीबाट ।

प्रकाशित मिति: आइतबार, कात्तिक २३, २०८२  १४:१४
प्रतिक्रिया दिनुहोस्