काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मधेस प्रदेशमा ‘अ–राजनीति’ भएको टिप्पणी गरेका छन् । नवगठित मधेस सरकारप्रति उनले असन्तुष्टि व्यक्त गरेका हुन् ।
“मधेस प्रदेशमा भएको ‘अ–राजनीति’ दुःखद छ । नागरिकपंक्तिमा संघीयताप्रति थप वितृष्णा बढाउन सघाउने घटना निन्दनीय छ,” उनले सोमबार (कात्तिक २४) बिहान सामाजिक सञ्जालमा लेखेका छन् ।
मधेसको सबैभन्दा ठूलो दलको हैसियतमा नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको हो । यसलाई शर्माले ‘मञ्चन भएको प्रहसन’ भनेका छन् ।
यो विषय अदालत पुर्याइने र न्यायालयले सच्याउने उनले विश्वास व्यक्त गरेका छन् । “१६८(२) को सरकार बन्ने सम्भावना छँदै, मञ्चन भएको ‘प्रहसन’लाई बहुमत दल र बहुमत प्रदेशसभा सदस्यको मागमा न्यायालयले सच्याउने अपेक्षा छ,” उनले लेखेका छन् ।