काठमाडौं । भारतको राजधानी दिल्लीमा सोमबार पनि हावाको अवस्था ‘अत्यन्तै खराब’ रहेको छ । भारतको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डका अनुसार, सोमबार बिहान ८ बजे दिल्लीको औसत एक्यूआई ३४५ रेकर्ड गरिएको छ ।
बवानामा एक्यूआई ४०० नाघेको छ । आनन्द बिहार, अलिपुर, अशोक बिहार, चाँदनी चोक, आईटीओ, नरेला र रोहिणीलगायत क्षेत्रमा एक्यूआई ३५० भन्दामाथि रेकर्ड गरिएको छ ।
हावाको गुणस्तरबारे जानकारी दिने स्विस कम्पनी ‘आईक्यूएयर’का अनुसार, सोमबार बिहान ११ बजे दिल्लीको औसत एक्यूआई ५२५ थियो । साथै, दिल्लीको हावामा पीएम २.५ कणहरूको मात्रा विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा करिब ६५ गुणा बढी थियो ।
आईक्यूएयरका अनुसार, बिहान ११ बजे रोहिणीको एक्यूआई ६७३, नरेलाको ६५६, जहांगीरपुरीको ५८५ र सोनिया बिहारको ५७९ रेकर्ड गरिएको थियो ।
एक्यूआई दायरा वर्गीकरणमा ०–५० तहलाई ‘राम्रो’, ५१–१०० तहलाई ‘सन्तोषजनक’, १०१–२०० तहलाई ‘मध्यम’, २०१–३०० तहलाई खराब’, ३०१–४०० तहलाई ‘अत्यन्तै खराब’ र ४०१–५०० तहलाई ‘गम्भीर’ अवस्था मानिन्छ । प्रदूषित हावामा सास फेर्दा धेरै स्वास्थ्यसम्बन्धी समस्या उत्पन्न हुन सक्छन् ।
यसैबीच, सफा हावाको माग गर्दै भारतको राजधानी दिल्लीको इन्डिया गेटमा आइतबार राति मानिसहरूले सफा हावाको माग गर्दै प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन् । समाचार एजेन्सी एएनआईका अनुसार, प्रदर्शनकारीहरूले दिल्ली–एनसीआर क्षेत्रमा हावाको अवस्था सुधार्न सरकारलाई नीतिगत पहल गर्न र ती नीतिहरू प्रभावकारीरूपमा कार्यान्वयन गर्न माग गरेका थिए ।
तर, दिल्ली प्रहरीले प्रदर्शनकारीहरूलाई हिरासतमा लिएर त्यहाँबाट हटाएपछि प्रदर्शन बीचमै रोकिएको थियो ।
यस घटनापछि लोकसभामा प्रतिपक्ष दलका नेता राहुल गान्धीले यस विषयमा सामाजिक सञ्जाल ‘एक्स’ मा पोस्ट गर्दै वायु प्रदूषणले करोडौं भारतीयलाई प्रभावित गरिरहेको भन्दै बालबालिका र देशको भविष्यलाई नोक्सान पुर्याइरहेको बताएका छन् । उनले सफा हावाको माग गर्ने मानिसहरूमाथि आक्रमण गर्नुको सट्टा, वायु प्रदूषणमाथि निर्णायक कारबाही गर्न आवश्यक रहेको पनि बताएका छन् ।
उनले शान्तिपूर्ण तरिकाले सफा हावाको माग गर्ने नागरिकहरूमाथि अपराधीजस्तो व्यवहार नगर्न चेतावनी दिएका छन् ।
दिल्ली प्रहरीले प्रदर्शनकारीहरूलाई हिरासतमा लिने आफ्नो कदमको बचाउ गरेको छ । नयाँ दिल्ली जिल्लाका डीसीपी देवेश कुमारले इन्डिया गेट प्रदर्शनको लागि तोकिएको स्थान नभएको र सर्वोच्च अदालतको निर्देशनअनुसार, नयाँ दिल्लीमा विरोध प्रदर्शनका लागि निर्दिष्ट स्थान जन्तर–मन्तर भएको भन्दै सबैलाई निर्देशनहरूको पालना गर्न आग्रह गरेको बताए ।
लाइभमिन्टबाट ।