site stats
बाह्रखरी :: Baahrakhari
विदेश
ट्रम्पले दिए बीबीसीविरुद्ध एक बिलियन डलरको मुद्दा हाल्ने चेतावनी
डोनाल्ड ट्रम्प । फाइल तस्बिर : एजेन्सी ।

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतको प्रमुख सञ्चार संस्था बीबीसीविरुद्ध मानहानि आरोपमा एक बिलियन डलरको मुद्दा हाल्ने चेतावनी दिएका छन् । ट्रम्पका वकिलले बीबीसीलाई कानुनी ‘नोटिस’ पठाउँदै यदि संस्थाले आफ्नो ‘प्यानोरामा डकुमेन्ट्री’मा माफी नमागेमा मुद्दा दायर गर्ने चेतावनी दिएका हुन् ।

वकिलले च्यानलले ट्रम्पको भनाइ तोडमोड गरेर उनको छविमा क्षति पुर्‍याएको जिकिर गरेका छन् । वकिलले माफी मात्र नभई आर्थिक क्षतिपूर्तिको पनि माग गरेका छन् ।

सन् २०२४ अक्टोबरमा सार्वजनिक उक्त बीबीसी डकुमेन्ट्रीमा ट्रम्पका दुई फरक–फरक भाषणका अंशलाई जोडेर प्रस्तुत गरिएको थियो । त्यसो गर्दा उनले ती सबै भनाइ एकैपटक भनेको झैँ देखिएको थियो । सन् २०२१ जनवरी ६ का भनाइलाई त्यसरी प्रस्तुत गरिएको थियो ।

उक्त सम्पादन जानाजान गरिएको ट्रम्पको कानुनी टोलीको भनाइ छ । त्यसबाट ट्रम्पको छविमा गम्भीर क्षति पुगेको दाबी गरिएको छ ।

उनीहरूले यो मुद्दा फ्लोरिडा राज्यमा दायर गरिने बताएका छन् । त्यहाँको कानुनानुसार पीडितले दुई वर्षभित्र मानहानि मुद्दा दर्ता गर्न सक्छन् ।

यो विवादपछि बीबीसीका डाइरेक्टर जनरल टिम डेभी र न्युज सीईओ डेबोरा टर्नेसले पदबाट राजीनामा दिएका छन् । बीबीसीका अध्यक्ष समीर शाहले यो गल्तीका निम्ति माफी माग्दै संस्थाले सुधारका कदम चालिरहेको बताएका छन् ।

गलत सम्पादनले ट्रम्पको भाषणको अर्थ बदलियो
सन् २०२१ जनवरी ६ मा अमेरिकी कंग्रेसले जो बाइडेनको जितको पुष्टि गर्न लागेका बेला ट्रम्पले आफ्ना समर्थकलाई भनेका थिए, “हामी शान्तिपूर्ण रूपमा र देशभक्तिको साथ आफ्नो आवाज उठाउनेछौँ ।” 

त्यसपछि अर्को भाषणमा उनले भनेका थिए, “यदि, तिमीहरू डटेर लड्दैनौ भने  तिमीहरूको देश बाँच्ने छैन ।”

बीबीसीको डकुमेन्ट्रीले यी दुई फरक–फरक अंशलाई यसरी जोड्यो, मानौँ यी एकै वाक्यमा बोलिएका हुन् । त्यसबाट ट्रम्पले आफ्ना समर्थकलाई हिंसाका निम्ति उक्साएको जस्तो देखियो ।

यो ‘कट–एन्ड–जोइन एडिटिङ’ (काटेर जोड्ने सम्पादन)ले ट्रम्पले जानाजान क्यापिटल हिल आक्रमणलाई उक्साएको जस्तो धारणा सिर्जना गर्‍यो, जबकि वास्तविक भाषणमा उनले शान्तिपूर्ण विरोधबारे बोलेका थिए ।

जिम्मेवारी मेरो हो : टिम डेभी
विगत धेरै वर्षदेखि बीबीसीका प्रमुख रहेका टिम डेभीले आइतबार राजीनामा दिने निर्णय आफ्नो व्यक्तिगत जिम्मेवारी भएको बताए । उनले भने, “बीबीसीजस्तो सार्वजनिक संस्थामा सधैँ पारदर्शिता र जवाफदेहिता कायम रहनुपर्छ । यो विवादले मेरो निर्णयलाई प्रभावित गरेको छ र यसको अन्तिम जिम्मेवारी मेरो नै हो ।”

डेभीले बीबीसीमा करिब २० वर्ष सेवा गरे । उनी बीबीसीका १७औँ डाइरेक्टर जनरल हुन्, जसले २०२० सेप्टेम्बरमा लर्ड टोनी हलको स्थान लिएका थिए । उनी यसअघि पेप्सीको युरोपमा मार्केटिङ हेड थिए ।

आफ्नो कार्यकालमा उनले विभिन्न विवादको सामना गरे । जस्तै, सन् २०२३ मा ‘म्याच अफ द डे’ कार्यक्रमका क्रममा प्रस्तुतकर्ता ग्यारी लाइनकरलाई निलम्बन गर्दा बीबीसीका खेलपत्रकारले काम बहिष्कार गरेका थिए ।

बीबीसीलाई नोक्सान भइरहेको छ : डेबोरा टर्नेस
बीबीसी न्युज र करेन्ट अफेयर्सकी सीईओ डेबोरा टर्नेसले पनि आइतबार राजीनामा दिइन् । उनले ट्रम्पको भाषणसम्बन्धी डकुमेन्ट्री विवादले बीबीसीको प्रतिष्ठामा नोक्सान पुर्‍याएको बताइन् । आफ्नो वक्तव्यमा उनले लेखिन्, “बीबीसीजस्तो संस्थामा जवाफदेहिता अत्यन्त महत्त्वपूर्ण छ । यो विवादले हाम्रो संस्थाको प्रतिष्ठामा धक्का पुर्‍याएको छ र प्रमुखका रूपमा यसको जिम्मेवारी मेरो हो ।”

टर्नेस २०२२ सेप्टेम्बरमा बीबीसीमा आबद्ध भएकी थिइन् । उनी यसअघि आईटीएनकी सीईओ र एनबीसी न्युज इन्टरनेसनलकी पहिलो महिला अध्यक्ष रहेकी थिइन् । उनले अमेरिकामा तीन हजारभन्दा बढी पत्रकारको टोलीको नेतृत्व गरेकी थिइन् । एपीबाट ।

 

प्रकाशित मिति: मंगलबार, कात्तिक २५, २०८२  १२:०४
प्रतिक्रिया दिनुहोस्