काठमाडौं । भारतको ऐतिहासिक लाल किल्लानजिक सोमबार भएको कार विस्फोटको अनुसन्धानका क्रममा राजधानी क्षेत्र दिल्लीको प्रहरीले आतंकवादविरोधी कानुन लागु गरेको छ । उक्त घटनामा कम्तीमा १३ जनाको मृत्यु भएको छ । २० जना घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
घटनास्थल र मृतक तथा घाइतेलाई लगिएको लोकनायक अस्पतालको भ्रमण गरेका भारतका गृहमन्त्री अमित शाहले घटनाको गहन अनुसन्धान गर्ने वाचा गरेका छन् ।
तर, मंगलबार बिहानसम्म प्रहरीको ध्यान विस्फोट दुर्घटनावश नभई योजनाबद्ध रूपमा गरिएको कार्य हुन सक्ने सम्भावनातर्फ केन्द्रित भएको देखिन्छ ।
धेरै भारतीय समाचार एजेन्सीले दिल्ली प्रहरीले गैरकानुनी गतिविधि (रोकथाम) अधिनियम (आतंकवादी गतिविधिसँग लड्ने देशको मुख्य कानुन) र विस्फोटक पदार्थ अधिनियम (ज्वलनशील सामग्रीको अवैध खरिद र प्रयोगलाई दण्डित गर्ने कानुन)अन्तर्गत मुद्दा दर्ता गरेको जनाएका छन् ।
यद्यपि, लोकप्रिय पर्यटकीय गन्तव्य लाल किल्लानजिकैको भूमिगत मेट्रो स्टेसनमा भएको उक्त विस्फोटको कारण हालसम्म पत्ता लागेको छैन ।
भारतीय सञ्चारमाध्यमका अनुसार, यो घटनापछि छिमेकी उत्तर प्रदेश राज्य र भारतको आर्थिक राजधानी मुम्बईलाई उच्च सुरक्षा सतर्कतामा राखिएको छ । भारतको केन्द्रीय प्रहरी बलद्वारा जारी विज्ञप्तिअनुसार, इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थललगायत आसपासका स्थानमा पनि सतर्कता बढाइएको छ ।
नयाँ दिल्लीका अग्नि उपनियन्त्रकका अनुसार, विस्फोटका कारण ६ सवारीसाधन र तीन अटोरिक्सामा आगो लागेको थियो ।
दिल्लीका प्रहरी आयुक्त सतीश गोल्चाले विस्फोट साँझ ७ बजेभन्दा केही समयअघि भएको बताएका छन् । “एउटा बिस्तारै गुडिरहेको सवारीसाधन रातो बत्तीमा रोकियो । त्यो सवारीसाधनभित्र विस्फोट भयो र त्यसका कारण नजिकका अरू सवारीसाधनमा पनि क्षति पुग्यो । अहिले स्थितिको निगरानी जारी छ,” उनले पत्रकारसँग भने ।