काठमाडौं । भारतको विहार राज्यको विधानसभाको २४३ सिटका लागि बिहारमा दुई चरणमा मतदान सम्पन्न भएको छ । पहिलो चरणको मतदान नोभेम्बर ६ र दोस्रो चरणको मतदान नोभेम्बर ११ मा भएको थियो । नतिजा नोभेम्बर १४ मा आउनेछ ।
बिहार विधानसभा चुनाव २०२५ लाई लिएर एक्जिट पोलका नतिजाहरू सार्वजनिक भएका छन् । सबै एक्जिट पोलमा सत्तारुढ गठबन्धन एनडीएको सरकार निरन्तर रहने देखिएको छ । एक्जिट पोलमा विपक्षी महागठबन्धनलाई ठूलो झट्का लागेको छ । अब नोभेम्बर १४ मा हुने मतगणनामा राज्यमा कसको नेतृत्वमा सरकार बन्छ भन्ने स्पष्ट हुनेछ ।
यद्यपि, यसपटक धेरै सिटहरूमा चर्को प्रतिस्पर्धा रोचक देखिएको छ । महागठबन्धन र एनडीएसँगै पीके (प्रशान्त किशोर)को जन सुराज पार्टी, असदुद्दीन ओवैसीको एआईएमआईएम तेजप्रताप यादवको जनशक्ति जनता दल पनि मैदानमा छन् ।
बिहारमा दुवै चरणको मतदान समाप्त भएपछि हालसम्म १२ वटा एक्जिट पोल अनुमानहरू सार्वजनिक भएका छन् ।
म्याट्रिज आईएएनएस, पीपल्स पल्स, जेभीसी पोल, पीपल्स इनसाइट, चाणक्य स्ट्राटेजिज, पोलस्ट्र्याट, पोल डायरी, प्रजा पोल एनालिटिक्स, टीआईएफ रिसर्च, पी–मार्क र डीभी रिसर्चका अनुमानहरूमा एनडीएलाई प्रचण्ड बहुमत मिल्ने सम्भावना छ ।
कामाख्या एनालिटिक्सले एनडीएले १६७ देखि १८७ सिट प्राप्त गर्ने बताएको छ । महागठबन्धनले ५४ देखि ७४ सिट पाउने बताएको छ । म्याट्रिज–आईएएनएसले एनडीएले १४७ देखि १६७ सिट (४८ प्रतिशत भोट शेयर) प्राप्त गर्ने बताएको छ । महागठबन्धनले ७० देखि ९० सिट (३७ प्रतिशत भोट शेयर) पाउने बताएको छ ।
यसैगरी चाणक्य स्ट्रटेजिस्मले एनडीएले १३० देखि १३८ सिट र महागठबन्धनले १०० देखि १०८ सिट प्राप्त गर्ने बताएको छ । पिपुल पल्सले एनडीएले १३३ देखि १५९ सिट र महागठबन्धनले ७५ देखि १०१ सिट प्राप्त गर्ने देखाएको छ । जेभीसी एक्जिट पोलले एनडीएले १३५ देखि १५० सिट र महागठबन्धनले ८८ देखि १०३ सिट पाउने बताएको छ ।
सन् २०२० मा बिहारको विधानसभा चुनाव जितेर एनडीएले सरकार बनाएको थियो । एनडीएले कुल १२५ सिट पाएको थियो । महागठबन्धनले ११० सिट पाएको थियो । आरजेडी ७५ सिटसहित सबैभन्दा ठूलो पार्टीको रूपमा उदाएको थियो ।