site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
तीन तहबीचको सहकार्यबिना नागरिक लाभान्वित हुँदैनन् : मुख्यमन्त्री कँडेल

सुर्खेत ।  कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संघ, प्रदेश र स्थानीय सरकार फरक भए पनि एउटै भूगोलमा कार्यरत भएकाले तीन तहबीचको समन्वय र सहकार्यबिना नागरिक लाभान्वित नहुने बताएका छन् ।

बुधबार सुर्खेतमा प्रदेश तथा स्थानीय सरकारबीच अन्तरसरकारी सम्बन्धका विषयमा आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री कँडेलले विकास निर्माण र सेवा प्रवाहमा सहकार्यको अभाव रहेको बताए ।

उनले भने, “भूगोल सबैको एउटै हो, त्यसैले विकास निर्माणमा सहकार्य र समन्वय हुनुपर्छ, तब मात्र जनताले प्रत्यक्ष लाभ पाउँछन् ।”

मुख्यमन्त्री कँडेलले दोहोरोपन, अधूरा काम र गुणस्तरहीन विकासबाट जोगिन तीनै तहबीचको सहकार्य अपरिहार्य रहेको उल्लेख गरे । उनका अनुसार हालको परिवर्तित राजनीतिक परिवेशमा प्रदेश र स्थानीय तहबीचको सम्बन्ध अझ सुदृढ गर्न आवश्यक छ ।

“आन्दोलनपछि बनेको गैरदलीय सरकारले प्रदेश र स्थानीय तहलाई आफ्नो इकाइ हो कि जस्तो गरेर पत्राचार र व्यवहार गर्दै आएको छ,” उनले भने, “हाल केही सुधार भए पनि त्यसैमा ढुक्क हुने अवस्था छैन ।”

राजनीतिक दलमाथि उठिरहेका प्रश्नहरूबारे उनले दलहरूले जनताको विश्वास पुनःस्थापना गर्न जिम्मेवार ढंगले काम गर्नुपर्ने बताए । “जनताको विश्वास जित्ने गरी काम गर्नसके मात्र राजनीति बलियो हुन्छ,” उनले भने ।

प्रकाशित मिति: बुधबार, कात्तिक २६, २०८२  १३:०७
प्रतिक्रिया दिनुहोस्