site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
विशेष महाधिवेशनमा जानै हुन्न, गयो भने पार्टी फुट्छ : रमेश लेखक
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश लेखकले विशेष महाधिवेशनमा गए पार्टी एक नरहने तर्क गरेका छन् । जारी केन्द्रीय समिति बैठकमा बुधबार धारणा राखेका लेखकले विशेष महाधिवेशनबाट पार्टी सग्लो नफर्किने दाबी गरे ।

“‘मैले बमका रूपमा भन्ने गरेको छु, ‘विशेष महाधिवेशनमा जानु भनेको कांग्रेस त्यस्तो जंगलमा जानु हो, जहाँबाट निस्कने एउटै बाटो हुनेछैन, त्यहाँबाट निस्कँदा हामी अलग अलग बाटोमा हुनेछौँ,” लेखकले भने, “त्यसैले विशेष महाधिवेशनका हस्ताक्षरकर्ताहरूको हस्ताक्षर फिर्ता लिन भनौँ, उहाँहरूको भावना सम्बोधन हुने गरी पुसभित्रै नियमित महाधिवेशन गर्न सकिन्छ ।”

उनले विधानले ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले मागेमा विशेष महाधिवेशन गर्नुपर्ने प्रावधान राखे पनि कसरी गर्ने, त्यसका अधिकार के के हुने भनेर परिभाषित नगरेको बताए । उनले विवादमै विशेष महाधिवेशनमा गएपछि त्यहाँ पनि विवाद हुने र पार्टीमा विभाजन आउने दाबी गरे ।

उनले १३औँ महाधिवेशनका क्रममा नरहरि आचार्यको संयोजकत्वमा सदस्य भएर काम गर्दा सर्वसम्मतले निर्णय गर्ने म्यान्डेट पाउँदा सदस्यता टुंग्याउन आठ महिना लागेको पनि स्मरण गरे । उनले क्रियाशील सदस्यताका कारण अझै पनि पुसभित्र महाधिवेशन गर्न सम्भव हुनेमा विश्वस्त हुन नसके पनि सदस्यता चाँडो टुंग्याउन सके सम्भव हुने बताए ।

उनले केन्द्रीय समितिको बैठकमा आएका धारणाका आधारमा पदाधिकारीहरूसँग छलफल गरेर नयाँ समाधान प्रस्ताव गर्न कार्यवाहक सभापतिलाई पनि आग्रह गरे ।

प्रकाशित मिति: बुधबार, कात्तिक २६, २०८२  १५:००
प्रतिक्रिया दिनुहोस्